Breaking

देउवाले धोका नदिनेमा किन ढुक्क छन् प्रचण्ड ?धोकेवाजहरुको मिलन कहिलेसम्म टिक्ला ?


काठमाडौँ — प्रधानमन्त्रीको कुर्सीमा जान आफैले दुत्कारेको एमालेसँग घाँटी जोडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले कांग्रेससँग लाभैलाभ देख्न थालेका छन । दुई महिना अघि कांग्रेसले लिएको अड्डी विर्सिदै प्रचण्डले पुनः कांग्रेससँग सहकार्यको हात अगाडि बढाएका छन् । कांग्रेस र माओवादीबीचको पछिल्लो मिलनको रसायन के भन्ने अहिले नखुलेपनि देउवाले धोका दिए प्रचण्ड के गर्लान् भन्ने बहस पनि सुरु भइसकेको छ ।

दुई महिने सहकार्यलाई विराम लगाँउदै कांग्रेसलाई राष्ट्रपतिको जिम्मा लाएपछि खुसीको सुस्केरा हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उत्साह त्यसयता दिन दुई गुना रात चौगुना बढिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको ललिपप देखाएर पिँजडामा थुनेपछि कहिले राष्ट्रपतिमा कांग्रेसको विश्वासको मत साटेका उनी त्यसयता यही मिसनमा लागेका थिए । फलत कहिले राष्ट्रपति राष्ट्रिय सहमतिको हुनुपर्ने बताउने त कहिले १२ बँुदे सहमति गर्नेहरु एक ठाउँमा आउनुपर्ने बताउने उनले एमाले पेल्न थाले । जसलाई पुस १० गतेको सहमतिको कसीमा राखेर एमालेले अडान राख्दा अन्ततः प्रचण्ड फागुन १२ गते भने ओलीको साथ नचाहिने प्रष्टाउन सफल भए ।

त्यो दिन आठ दल एक ठाउँमा उभ्याएर अबको राष्ट्रपति कांग्रेसको हुने सहमति गराएर नयाँ गठबन्धनको शंखघोष गरेका उनले शनिबार सार्वजनिक कार्यक्रममा बोल्दै दुई महिनामा आफूले भोगेको अप्ठ्यारो लुकाउन सकेनन् । ‘मैले दुई महिनाभित्र त्यो तीतो अनुभव र अनुभूति गरें, सबै लोकतान्त्रिक शक्तिहरू र हिजो ऐतिहासिक रूपमा भूमिका खेलेकाहरू मिल्नुपर्छ,’ भन्दै आफ्ना दुईमहिने उकुसमुकुसको पोयो खोलेका उनी ‘बेलाबेला उतारचढाव भए पनि आफू ठिक ठाँउमा आईपुग्ने भन्दै नयाँ समीकरणप्रति गौरन्वावित र हर्षित सुनिए । अर्थात सभामुख चयनसम्म ओलीसँग सहकार्य गर्न तयार रहेका प्रचण्ड राष्ट्रपति चयनमा भने कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरी देउवामाथि भरोसा गर्न पुगे । जुन भरोसाले उनलाई पुलकित बनाउँदै लगेको छ ।

सरसर्ती हेर्दा खासै भागवण्डामा समेत फाईदाजनक स्थितिमा नपुगेको उनको यो कमदलाई एमाले नेताहरुले भने देशी–विदेशी शक्तिको खेल र प्रचण्डको अस्थिर चरित्र नै मुख्य कारण रहेको एमाले नेताहरुको भनाईकाबीच उनी भने देउवाले प्रचण्डले धोका दिए भने के हुन्छ समेत नसोचे जसरी अघि बढेका छन । एमालेले समेत साथ छोडेपछि अल्पमतमा परेका प्रचण्डलाई राष्ट्रपति पाएपछि कांग्रेसले साथ दिने विषय पनि केवल देउवाकै भरोसामा निहित छ । यदि एमालेले साथ दिने विश्वास दिलाउन सके राष्ट्रपति पाइसकेको कांग्रेसले हातमै आउने प्रधानमन्त्रीमा पनि लोभ नगर्ला भन्न सकिन्न । यो सरकार ढले ठूलो दलका रुपमा आफै प्रधानमन्त्री बन्ने अवसर पाउने देउवा यसैपनि ज्योतिषको भविष्यवाणीकै संख्यामा प्रधानमन्त्री बन्ने धाउन्नमा छन ।

जुन परिस्थितिले दुई महिना अघि धोका दिएका प्रचण्डलाई नै सबविर्सिएर काध नै हाल्ने बाध्यतामा कांग्रेस रहने छैन । यद्यपि प्रचण्ड देउवाप्रति विश्वस्त देखिएको यो नै पहिलो पटक भने होइन । ०७८ असार २८ मा सर्वोच्च अदालतको परमादेशपछि तत्कालीन प्रधानमन्त्री देउवासँग डेढ वर्ष सरकारमा सहकार्य गर्दा पनि सहज महसुस गरेका थिए । वर्तमान परिस्थितिमा पनि प्रचण्डले ओलीबाट भोगेको पेलान र ठुलो दल भएरपनि सत्ता बाहिर बस्नुपर्दा कांग्रेसलाई पोलेको विषयले पनि विश्वास दिलाएको हुनसक्छ ।

अर्कातर्फ कम्तीमा कम्युनिष्ट एक नहुन भन्ने देउवा र कम्युनिष्टको केन्द्र आफै बन्ने होडमा रहेका प्रचण्डबीच दुवैको निशाना एमाले जस्ता शक्ति हुनसक्ने विषयले पनि मनमुटु मिलाएको हुनसक्छ । जहाँ नेपाली कांग्रेसका नेताहरु भने आफ्नो प्रधानमन्त्री प्रचण्डलाई कुनैपनि हालतमा धोका नदिने बताउँदै आएका छन । प्रचण्डले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पु¥याउने आफूहरुको तयारी रहेको बताउने उनीहरु निर्वाचन अघिकै झै यो गठबन्धनको आयू लामो हुने समेत दावी गरिरहेका छन ।

हुन त यो गठबन्धन लामो जाँदैन भन्ने विश्लेषणकै कारण संसद्बाट विश्वासको मत लिने बेलासम्म नै प्रचण्ड कांग्रेस सभापति देउवा र अरू नेतासँग संवादमा थिए । यसको अर्थ कांग्रेसले प्रधानमन्त्री नदिएको तत्कालिन कारणले नयाँबाटो रोज्नु परेपनि ओलीका अघि आफू धेरै नटिक्नेमा उनी पहिल्यै पक्का थिए । तरएक अर्काबाट पटक–पटक धोका खाएका देउवा–प्रचण्डको मिलनको आधार यति साधारण विषयवस्तु हुनसक्ने भए किन बीचमा एमालेले प्रवेश पायो प्रश्न यसमा पनि छ । जसले
माओवादी नेताहरुले भनेझै संविधानअनुसार संघीयता बलियो बनाउने, शान्ति प्रक्रिया टुंग्याउने र सरकारको काम प्रभावकारी बनाउने राजनीतिक स्वार्थ मिल्दैमा यो विश्वास आएको हुने सक्ने कुरामा भने शंशय नै छ ।