काठमाडौँ — सात दशक लामो नेपाली कम्युनिष्ट पार्टीको इतिहासमा धेरै टुटफुट आएको छ । कम्युनिष्ट नामका पार्टीहरू दर्जनौं समूहमा विभाजित छन् । सत्तापक्ष र विपक्षी मात्रै होइन, भूमिगत र अर्धभूमिगत रुपमा समेत अस्तित्वमा रहँदै आएका छन् । संसदमा कम्युनिष्टहरू बहुमतमा छन् । तर, उनीहरू कार्यक्रमिक रुपमा एक ठाउँमा छैनन् । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालदेखि नै टुटफुटबाट गुज्रिदै आएको छ । इतिहास हेर्दा कम्युनिष्ट पार्टी फुट्ने र जुट्ने सामान्य घटनाक्रम जस्तै लाग्छन । जुट्ने भन्दा फुट्ने क्रम बढ्दो छ ।
सैद्धान्तिक र नीतिगत आधारमा भन्दा व्यवहारिक पाटोले फुटमा भूमिका खेलेको देखिन्छ । प्रायः सबै कम्युनिष्ट पार्टीको नीति एउटै हुन्छ– गरीब, सर्वहारा, किसान, मजदूर, महिला, पछाडि पारिएको समुदाय आदिको उत्थान गर्दै हकहित स्थापित गर्ने । तर, पदीय महत्वाकांक्षा, व्यक्तिगत इगो र पद–प्रतिष्ठाका कारण कम्युनिष्टहरू विभाजित हुँदै आएका छन् । कम्युनिष्टहरू एकअर्काबाट छुट्टिदा अनेकौं आरोप–प्रत्यारोप र सत्तोसराप गर्न पछि पर्दैनन् । जति नै आरोप–प्रत्यारोप गरे पनि कम्युनिष्टहरू मिल्न पनि बेर लाग्दैन । कम्युनिष्टहरू स्वार्थ मिल्नासाथ गाली बिर्सेर गला मिलाउन लाज माग्दैनन् ।
संसद विघटनपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड पानी बाराबारको स्थितिमा थिए । तर, गत पुस १० गते सत्ता स्वार्थले दुई नेतालाई नजिक ल्याइदियो । विगतका सबै कुरा भुल्दै दुई महिना सहकार्य गर्न पुगे । राष्ट्रपति निर्वाचनले फेरि यी दुई दललाई अलग कित्तामा उभ्याइदिएको छ । फेरि कहिले एक हुने हुन् टुंगो छैन ।
पानी बाराबारको स्थितिमा रहेका एमाले र एकीकृत समाजवादीलाई भने राष्ट्रपति निर्वाचनले नजिक्याएको छ । दुई दलबीच औपचारिक सम्बादको थालनी समेत भएको छ । राजनीतिमा एजेण्डाका आधारमा सहकार्य हुनुपर्ने हो । तर, नेपाली राजनीतिमा सत्ता स्वार्थका लागि जुट्ने र फुट्ने हुँदै आएको छ । सैद्धान्तिक मूल्य र मान्यता सँधै ओझेलमा पर्ने गरेको छ ।
प्रतिक्रिया