Breaking

सन्दीप लामिछानेको निवेदनमा सुनुवाई सकियो


काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेको निवेदनमा सुनुवाई सकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए । लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न यूएई जान पाउनु पर्ने मागको निवेदन परेको थियो । त्यस्तै सरकारी वकीलको लामिछानेलाई थुनामै राख्नु पर्ने माग गर्दै निवेदन दायर भएको थियो ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो । उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।