Breaking

प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्रालय खाली


काठमाडौँ — (नेकपा एमाले)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले मन्त्रीहरूले आजै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउँदै छन् । एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री थिए ।

यसअघि राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाडेको थियो । गत पुस १० को सहमतिअनुसार सरकारमा सामेल भएका दलहरूले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले अब १६ मन्त्रालयको जिम्मेवारी लिनुपर्ने भएको छ । एमालेले अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालय लिएकोमा मन्त्रीहरू फिर्ता बोलाइसकेको छ । आज सचिवालय बैठक गरी एमालेले सरकार छाड्ने निर्णय गरेको थियो ।

यस्तै राप्रपाले ऊर्जा, सहरी विकास र कानून मन्त्रालय लिएकोमा मन्त्रीहरू फिर्ता भइसकेका छन् । राप्रपाले पनि राजनीतिक परिस्थिति बदलिएको भन्दै शनिबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिइसकेको छ । लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिदिएको थियो। त्यसपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।