Breaking

खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी


काठमााडौँ — खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सोमवार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिनुभयो । उहाँले खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताउनु भयो । उहाँले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिनुभयो । उहाँले पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न र अरु पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने बताउनु भयो ।

उहाँले कर्मचारीहरुले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पु¥याउनका लागि आन्दोलन गर्नुपर्ने बताउनु भयो । उहाँले खानेपानीका लागि बजेट नछ्ुट्याए र प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने बताउनु भयो । उहाँले काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्नेकुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिन भित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राणाकालीन अवस्थादेखि खानेपानीको वृत्तमा सञ्चालन भएको खानेपानीको अवस्थाका देशका विभिन्न भागमा सञ्चालन छ ।

तर राजनीतिको अखडा नबनाउँ । राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्नुस् । राजनीति गरौँ तर यसमा प्रधानमन्त्रीको अघि धर्ना बसेर, अर्थ मन्त्रालयको अघि बसेर धर्ना दिऔँ म अगाडि हुन्छु तर कर्मचारीलाई उचालेर राजनीति नगरौँ । कर्मचारीलाई मर्कामा राख्ने कुरा हुँदैन, कर्मचारी भनेको सेवक हुन्, उनीहरुले राम्रो ठाउँ पाउनुपर्छ । कर्मचारीले पार्टी र व्यक्तिको लागि आन्दोलन होइन, खानेपानीको लागि आन्दोलन गरौँ । पनौतीको खानेपानी संस्थानलाई निजीकरण गर्ने भन्ने कुरा आयो ।

किनभने प्रतिवर्ष ५० लाख घाटा हुँदो रहेछ, मन्त्रालयले धेरै कुरा गर्नुपर्छ । धेरै अपेक्षा गरेको छु भन्नुभयो, यो दोधारे कुरा नगर्नुस् । निजीकरण किन गर्ने ? त्यसको जवाफ सात दिनभित्र मन्त्रालयलाई दिनैपर्छ । निजीकरण गरेपछि तपाईहरुको काम के ?’ मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गर्नुभयो ।