Breaking

माधवमाथि देउवा–प्रचण्डको धोकाधडी!समाजवादी एमालेसँग नजिकिँदै, प्रचण्डले किन खेले गुमाउने खेल ?


काठमाडौँ — प्रधानमन्त्री प्रचण्डकै जोडबलमा एमाले नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेका छ । तर यसबाट माओवादी आफैँ घाटामा छ । फलतः आ–आफ्नै स्वार्थ र विचारमा रहेका दलहरुलाई मिलाएर जानुपर्ने चुनौती पनि प्रचण्डकै काँधमा छ । जुन पटक्कै सहज छैन । एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्किएर काँग्रेससहितको आठ दलीय गठबन्धनको बनेको दुईदिन बितेको छैन ।

तर राष्ट्रिय राजनीतिमा फेरि फेरबदलका संकेत देखिन थालिसके । प्रचण्ड पुस १० मा ओलीसँग मिल्न गएपछि माधवकुमार नेपाल आक्रोशित भएर आवेशमा आएका थिए । माधव र काँग्रेसकै बलमा दुईमहिनाभित्रै गठबन्धन भत्किएर प्रचण्ड पलट भएका छन् । तर माधवलाई अब एमाले प्यारो हुन थालेको छ । उनी एमालेसहितको सरकार बनाउनुपर्ने बताउन थालेका छन् ।

सबै गुमाएर रित्तिएको काँग्रेस राष्ट्रपति नै पाउन भएपछि प्रचण्ड अंगाल्न लालायित थियो ।त्यसका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर आधार बनाएको उ गठबन्धनमा फेरबदल ल्याएर कामयाब बनेको छ । तर माधव ढुक्क छैनन् । प्रचण्डपछि प्रधानमन्त्रीमा बीचको एकबर्षे अवधिमा सहमति गरेका उनलाई पदप्राप्ति सहज छैन । किनकि प्रधानमन्त्रीले दुईबर्षपछि राजीनामा वा सरकार छोडेलगत्तै ठूलो दलको हैसियतले देउवा स्वतः प्रधानमन्त्रीमा नियुक्त हुने व्यवस्था संविधानले गरेको छ ।

धारा ७६ तीन अनुसार ठूलो दलको हैसियतले नियुक्त भएका देउवाले माधव प्रधानमन्त्री बन्नका लागि राजीनामा दिनुपर्नेछ । जुन निकै कमजोर सम्भावना हो । किनकि त्यसपछिको विकल्पले संसद विघटनको परिकल्पना गरेको छ ।तर देउवालाई बीचको अवधि दिएर अन्तिममा माधव प्रधानमन्त्री हुने बाटो भने संविधानमा भेटिन्छ । जस अनुसार उनीहरुबीच सहमति भएकै छैन । यसले आफैलाई संकट पर्ने बुझेपछि सायद माधव मझधारको बन्न खोजिरहेका छन् । यसैकारण एकीकृत समाजवादीका नेताहरु ओलीसँग संवादको बाटो खुलेको भन्दै वाम एक हुनुको विकल्प नभएको बताउन थालेका छन् ।

संसद्को ठूलो दलको नेता भएकाले देउवालाई जतिसुकै बेला पनि प्रधानमन्त्रीको बाटो खुल्न सक्छ । किनकि उनी यस्ता अस्थिर संसदका खेलाडी हुन्, यो पछिल्लो दुईमहिनाको अवधिमा एकपटक पनि नबोली ओली एक्ल्याएर राष्ट्रपतिमा बाजी मार्न खोजिरहेका छन् ।किनकि अहिलेकै समीकरण कायम रहे, देउवाका दोस्ती रामचन्द्र पौडेल राष्ट्रपति बन्ने पक्का छ ।यसको आवेश ओली भने प्रचण्डमाथि पोखिरहेका छन् । राष्ट्रपति नै काँग्रेसले पाएपछि प्रचण्डदेखि रुष्ट रहेका ओलीले देउवासँग सत्ता सहयात्राका लागि पहल गर्नेमा दुईमत छैन । मुखमै रहेको राष्ट्रपति र दुईबर्षपछिको प्रधानमन्त्री गुमाएका ओली प्रचण्डसँग प्रतिशोधकै लागि भएपनि देउवासँग सहजीकरण गर्ने विश्लेषण भइरहेका छन् ।

किनकि संसदमा अड्किएका नागरिकता विधेयक, संविधान संसोधन, प्रदेश र स्थानीय सरकारका कानुन निर्माण लगायत सार्वजनिक महत्वका विषय पारित गर्न एमाले नभइनहुने छ । यस्तो बेला कि एमाले, माओवादी र काँग्रेससहितको सरकार बन्नुपर्नेछ । कि एमाले–काँग्रेस मिल्नुपर्नेछ । एमाले बाहिर राखेर कुनै विधेयक पारित हुने अवस्था देखिँदैन । देशमा बढ्दै गएको आर्थिक संकट र नागरिकमा बढ्दै गएको वितृष्णाको समाधान पनि सहज हुनेछैन ।

सरकारको नीति तथा कार्यक्रम दुई महिनामै भताभुंग भएको यो अवस्थामा एमालेले सरकार नछोडे के गर्ने प्रचण्डका लागि चुनौती छ । एमाले राष्ट्रपति गुमाएर पनि सरकारमै बस्यो भने देशको बजेट ओलीकै तजबिजमा बन्नेछ । त्यस्तो अवस्थामा प्रचण्ड आफैले एमालेका मन्त्रीलाई बर्खास्त गर्नुपर्ने हुनसक्छ । प्रचण्डलाई आफैले बनाएका सभामुख अब बाधक बन्न सक्छन् । जसरी यसअघि अग्नी सापकोटा ओलीको बनेका थिए ।तथापी रेशम चौधरीलाई जेलमुक्त गर्नेदेखि उपेन्द्र यादवलाई चुनाव जिताएर संसद छिराउनेसम्मका स्वार्थसहित नयाँ गठबन्धन बनेको छ ।

यता उता गर्नुभन्दा अर्काे तात्विक अर्थ नभएका साना दल पनि सत्तारोहणमै भुलेका छन् । तर प्रचण्डले फेरि आफैँ संकटमा छन् । ओलीसँग मिल्दा उपराष्ट्रपति, साढे दुईबर्षपछिको सभामुख र साढे दुईबर्षसम्म ढुक्कसँग सरकार सञ्चालनको अवसर पाएका प्रचण्डले अब दुवै गुमाएर प्रधानमन्त्रीको कार्यकाल पनि छोट्याएका छन् । रवि र राजेन्द्र जस्ता मुल राजनीतिक शक्तिका विरोधीहरुसँग सहकार्य गर्दै जनताको भरोशा बटुलेका उनले देउवासँग मिलेर के बढी पाए भन्ने प्रश्न पनि आम रुपमा उठेको छ ।