Breaking

बालेन राजीनामाको रहस्य, प्रचण्डको असहयोग, सुकुम्बासीदेखि हुकुमबासीसम्मको निशानामा


काठमाडौँ — काठमाडौँ महानगरका मेयर बालेन शाहले एकाएक राजीनामा दिन बाध्य बनाइएको अभिव्यक्ति दिएपछि महानगरवासी मात्रै नभएर प्रतिनिधि र देशवासी नै अचम्मित भए । उनको एक्कासी आएको यस्तो अभिव्यक्तिको कारणले उनी संघीय सरकारको राजनीतिको शिकार भए कि भन्ने प्रश्न गर्ने ठाउँ दिएको छ । शनिबार दिनको मध्याह्नसम्म जताततै राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको चर्चा चलिरहेको थियो । सात दलीय गठबन्धनको साहारामा प्रधानमन्त्री बनेका प्रचण्ड एकाएक आठ दलीय गठबन्धनसँग सहकार्य गर्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएपछि त्यसैले राजनीतिक माहोल तताएको थियो ।

तर, यत्तिकैमा दिउँसो ३ बजे तिर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको फेसबुक पेजबाट रोमनमा लिखिएको एउटा स्टाटस भाइरल भयो । राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ताले तताइरहेको राजनीतिक माहोललाई उक्त स्टाटसले ओझेलमा नै पार्न सफल भयो । जसमा लेखिएको थियो ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन् । यो देश कहिले पनि बन्दैन ।’ कसले, किन र कसरी राजनीनामा दिन बाध्य बनाउँदै छन् भन्ने विषय भने उनले कहिकतै खुलाएनन् । उनको यो स्टाटस धेरै प्रश्नहरु उब्जाएको छ । हरेक कुरामा राजनीति हुने देशमा महानगरको मेयर पनि थाकेका हुन् कि भन्ने आशंका छ । सबै राजनीतिक दलका बीचमा एक्लो स्वतन्त्र मेयरलाई काम गर्न असहज भएको उनकै अभिव्यक्तिले पनि पुष्टि गरेको छ ।

काठमाडौँ महानागरले हात हालेका धेरै ठाउँमा उ असफल जस्तै भइरहेको छ । कतै अदालती प्रक्रियाको झन्झट सामेल गर्नु परेको छ भने कतै नीतिगत समस्याको सामना गर्नु परेको छ । काठमाडाँैको फोहोर व्यवस्थापन व्यवस्थित तरिकाले हुन नसक्दा मेयरले आजसम्म फुलमाला लगाउन सकेका छैनन् । त्यस्तै टुकुचाको विषयमा अदालतका कारणले काम हुन सकेको छैन । अन्डर ग्राउण्ड पार्किङ, फुटपाथ व्यवसायीको व्यवस्थपन, सुकुम्बासी समस्याको यथास्थितिले पनि महानगरलाई छोडेको छैन । सम्पदासँग जोडिएका पूर्वाधारको काम पनि देखाउने गरि काम गर्न सकिरहेको छैन । यस्तै समस्याकाबीच महानगरबासीले ठूलो आश राखेका मेयरबाट राजीनामासम्मको निराशाजनक अभिव्यक्ति आएको हुन सक्छ ।

थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन नै मेयर बालेनको सबै भन्दा ठूलो चुनौती भएको बुझिन्छ । सुकुम्बासीको मुकुटमा हुकुम गरिरहेका बागमती किनारको बस्ती हटाउन बालेन पटक पटक देशका शीर्षस्थ नेता देखि तत्कालिन प्रधानमन्त्रीसम्मको ढोका ढकढकाउन पुगेका थिए । उनीहरुबाट पनि कुनै सहयोग नपाएका बालेनले वर्तमान प्रधानमन्त्री प्रचण्ड र गृह सम्हालिरहेका रवि लामिछानेलाई पनि सुकुम्बासी बस्तीको समस्या सुनाएका थिए ।

गृहमन्त्री लामिछानेबाट सकारात्मक संकेत आए पनि लामिछानेको मन्त्री पद नै गुमेपछि सुकुम्बासी बस्ती व्यवस्थित गर्ने काम अलपत्र छ । यद्यपि, महानगरको अन्य ९९ सय प्रतिशत समस्यालाई नजरअन्दाज गरेर एउटै समस्यालाई मात्रै प्राथमिकतामा राख्ने र त्यसकै आधारमा राजीनामासम्म पुग्नु कुनै कोणबाट पनि सान्दर्भिक देखिदैन । उनको एक्कासी आएको यस्तो अभिव्यक्तिका कारणले उनी संघको राजनीतिको शिकार भए कि भन्ने आशंका गर्ने ठाउँ दिएको छ । यति छिटो समयमा नै यस्तो शब्द प्रयोग गर्नु स्वयम् मेयरका साथै उनीमाथि विश्वास गर्ने मतदाताका लागि पनि पाच्य हुँदैन ।