Breaking

काठमाडौँ उपत्यकामा वर्षा


काठमाडौँ — काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित सामान्य वर्षा भइरहेको छ । आकाशमा गड्याङगुडुङ र चट्याङसहित हावाहुरी चलेर वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाको भक्तपुर, ललितपुर, कीर्तिपुर, साँखुलगायतका क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले बताइन् । पश्चिमी वायुको प्रभावका कारण आज देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ ।

आज पोखरा, लमजुङ, गोरखालगायत क्षेत्रमा पनि वर्षा भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाको प्रणाली कमजोर हुँदै गएकाले केही घण्टा मै पानी रोकिने महाशाखाको अनुमान छ । तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।