देश

आलाकार्ट प्रणाली लागु गर्ने सरकारको तयारी, विदेशी च्यानलहरूको वदमासी अन्त्य हुने विश्वास


काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी स–शुल्क च्यानलहरू हेरेबापत उपभोक्ताले तिर्नु पर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ । यसले थोरै च्यानल हेर्ने नेपाली उपभोक्तालाई धेरै राहत मिल्नुका साथै नेपालमा व्यापार गर्दै आएका विदेशी च्यानलहरुको दादागिरि र ठगी कम हुने विश्वास गरिएको छ । मन्त्रालयले आलाकार्ट प्रणालीका लागि कानुनी व्यवस्था गर्न प्रक्रिया अघि बढाएको छ ।

यस्तो सिस्टम लागू हुन ढिलाई हुँदा विदेशी च्यानलहरुले नेपालका सिग्नल वितरण गर्ने कम्पनीहरुसँग अनावश्यक सौदावाजी गर्ने, आफूले भनेअनुसार फाइदा उठाउन नपाए पुरानो कम्पनीसँग एकपक्षीय रुपमा सम्झौता तोडेर अर्काे कम्पनीसँग सम्झौता गरेर बढी रकम नेपालबाट लैजाने, बिना सुचना टेलिभिजनको सिग्नल बन्द गरिदिने, नेपालका व्यवसायीहरुबीच नै सम्वन्ध बिगार्ने जस्ता काम गदै आएका छन् ।

यस प्रणालीबाट नेपाली दर्शकले प्रायः हेर्दै नहेर्ने र कम हेर्ने च्यानलका लागि पनि बढी शुल्क तिर्नुपर्ने बाध्यता कम हुनेछ । पछिल्लो समयमा केवल टेलिभिजन सेवा प्रदायकको बजार खुम्चिँदै गएको छ । आलाकर्ट लागू भएपछि दर्शकलाई मात्रै नभएर सिग्नल वितरण गर्ने कम्पनीहरुलाई समेत अनावश्यक बोझ कम हुने र विदेशी स–शुल्क च्यानल प्रदायकलाई स्वदेशी सिग्नल वितरकहरूले भुक्तानी गर्नुपर्ने शुल्कलाई समेत पारदर्र्शी र वैज्ञानिक बनाउन मद्दत गर्नेछ ।