Breaking

रविपछि राजेन्द्रले छोडे प्रचण्डको साथ, प्रचण्डलाई लोहनीको चुनौती, बेवास्तामा जनताका समस्या


काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको दुई महिना बित्यो । तर, यो दुई महिनामा प्रचण्ड जनताको समस्या र सरकार सञ्चालनमा भन्दा बढी व्यस्त सत्ता र शक्ति केन्द्रमा नै रुमल्लिरहे । प्रधानमन्त्री नै बन्न पाँच दलीय गठबन्धनको साथ छोडेर सात दलीय गठबन्धनलाई साहारा बनाएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको दुई महिना बितिसक्यो । वैकल्पिक शक्ति भनेर उदाएका पार्टीहरुको समेत सहभागीतामा बनेको प्रचण्ड सरकारले ६० दिनको अवधि पार गरिसक्दा जनअपेक्षा अनुसार काम गर्न भने सकेको छैन ।

सरकार गठबन्धनको पहिलो महिना मन्त्रालय भागबण्डमा नै खर्च गरेको प्रचण्ड दोस्रो महिना भने राष्ट्रपति निर्वाचनभन्दा अघि बढ्न सकेनन् । दुई महिनासम्म सत्ता र शक्तिमा नै केन्द्रीत हुँदा काम गर्ने ठूलो इच्छाशक्तिले तेस्रो पटक प्रधानमन्त्री भए पनि सुरुवाती दुई महिनाले नै उनको कार्य क्षमतामा प्रश्न उठाएको छ । दुई महिनाको अवधिमा प्रचण्ड सरकारले धेरै उतारचढाव खेप्यो । सरकारमा सामेल भएको छोटो समयमा नै जनताले ठूलो आश राखेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो । कामभन्दा बढी चलखेलमा समय व्यतीत गर्दा अहिले भएकै गठबन्धनको पनि के हुने हो टुंगो छैन । तर, पनि सरकार भने साझा न्यूनतम कार्यक्रमको हवाला दिँदै सरकारले आफ्नै ढंगले काम गरिरहेको रेडिमेड जवाफ दिन छोड्दैन ।

यसरी तयारी जवाफ फर्काउँदै गर्दा सरकारमा नै सामेल अर्का पार्टीका नेता भने सरकारको कामप्रति सन्तुष्ट छैनन् । एउटा सरकार घटक बाहिरिसकेको अवस्थामा सरकारले काम गर्न नसकेको भन्दै अर्काे घटक सरकारमाथि खनि रहेको छ । सरकारले काम गर्न नसकेको स्वीकारेको सत्तारुढ राप्रपाले प्रचण्डमाथि प्रश्न तेसाईरहेको छ । रास्वपाले सरकार छोड्यो राप्रपाले पनि बारम्बार सरकारको कडा आलोचन गरि नै रहेको छ । सरकारकै कामप्रति गठबन्धनकै ठूलो दलको पनि असन्तुष्टी कायम नै छ । जनयुद्ध दिवसलाई हिंसा दिवसको संज्ञा दिँदै विदा मनाउनु दुखद् रहेको स्वयं केप ीओलीले बताउँदै आएका छन् ।

खाली मन्त्रालयको पदपूर्ति हुन नपाउँदै भएकै मन्त्रालयबाट पनि ४ मन्त्री बाहिरिसकेका छन् । युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयमा सरकारले अहिलेसम्म मन्त्रीको पद पूर्ति गर्न सकेको छैन । अब कुल रिक्त रहेका ६ मन्त्रालय पनि तत्काल नै पूर्ति हुने वातावरण देखिदँन । सबैभन्दा जटिल बनेको गृहमन्त्रालयको भागबण्डा मिलाउन पनि कठिन देखिन्छ । दुई महिना बित्दा पनि मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको प्रचण्ड सबै मन्त्रालय आफैले संगालेर राखेका छन् । सदनमा ९९ प्रतिशतले विश्वासको मत दिएको चुरीफुरी गरिरहँदा जनताले नुन र सिटामोल पनि पाएका छैनन् । जनताको समस्या र सरकार सञ्चालनमा व्यस्त हुनु पर्ने प्रचण्डको दैनिकी बालुवाटारमा राष्ट्रपति छान्दैमा बितिरहेको छ ।