Breaking

आकस्मिक बैठक राख्दै राप्रपा


काठमाडौँ – मुलुकको परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आकस्मिक बैठक राख्दै छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अहिले बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बस्ने जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ ।

आठ दलको बैठकमा सहभागी नभएको राप्रपाले यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक राख्न लागेको हो। राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरिसकेको छ ।

शुक्रबार बालुवटारमा बसेको ८ दलको बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) , नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी भएका थिए भने सत्ता साझेदार दलहरू राप्रपासहित नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी भएनन् । राष्ट्रपति निर्वाचनमा आठ दल एकजुट भएसँगै वर्तमान सत्ता समीकरण पनि फेरिने निश्चित भएको छ ।