Breaking

नेकपा एमालेको सचिवालय बैठक बस्दै


काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेका ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ । सत्ता सहयात्री दल माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको छ ।

बैठकमा राष्ट्रपति पदमा उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । माओवादी केन्द्रसहितको पुरानो गठबन्धनले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफ्नो उम्मेदवार उठाउने बताएका थिए । सरकार गठनका वेला पुस १० गते सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने उनको भनाइ थियो ।