विदेश

उत्तर कोरियाद्वारा ४ वटा क्रुज क्षेप्यास्त्र प्रहार, लाखौं जनता आणविक विकरणको जोखिममा


काठमाडौँ — केही दिन यता लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको उत्तर कोरियाले फेरी ४ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासल टु नामक ४ वटा क्षेप्यास्त्र कोरियाली प्रायद्धीपको पूर्वी तटतर्फ प्रहार गरिएको हो । उत्तर कोरियाले शुक्रबार ४ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । ति क्षेप्यास्त्र २ हजार किलोमिटरको दूरी तय गर्दै निशानामा परेको केसीएनएले दावी गरेको छ । पछिल्लो परीक्षणले देश जस्तो सुकै युद्धका लागि तयार रहनसक्ने पुष्टि गरेको उत्तर कोरियाली समाचार एजेन्सीको दावी छ । दक्षिण कोरिया र जापान सरकारले भने पछिल्लो क्षेप्यास्त्र प्रहारको बारेमा कुनै टिप्पणी गरेका छैनन् । यसैबीच उत्तर कोरियाको निरन्तर आणविक परीक्षणले उत्तर कोरिया र आसपासका देशहरु आणविक विकरणको जोखिम बढ्ने चेतावनी दिइएको छ ।

ट्राञ्जिसनल जस्टिस ग्रुपले दक्षिण कोरिया, जापान र चीनमा समेत रेडियोएक्टिक विकरणको जोखिम परेको हुन सक्ने चेतावनी दिएको हो । सोही समूहले उत्तर कोरियाको सीमा नजिकका करिब साढे ५ लाख दक्षिण कोरियालीहरुमा आणविक विकरणको जोखिम परिसकेको हुन सक्ने भन्दै तत्काल परीक्षण सुरु गर्न सुझाव दिएको हो । उत्तर कोरियाबाट भागेर दक्षिणमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गर्दा रेडियो एक्टिभ विकिरणको मात्रा खतराको तहमाथि रहने गरेको पाइएको छ । अहिले उत्तर कोरियाले जनताले चरम खाद्य सङ्कट बेहोरिरहेको छ । सीमामा गरिने कडाइ, खराब मौसम र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण केही वर्षयता त्यहाँको स्थिति झनझन बिग्रिएको छ । यता देश खाद्य संकटको चपेटामा परेको अबस्थामा शाशक किम जोङ उनको परमाणु हतियार मोह भने बुझिनसक्नको छ ।

त्यहाँका सञ्चार माध्यमका अनुसार अहिले उत्तर कोरियाका उच्चपदस्थ अधिकारीहरूले कृषि नीतिमा आधारभूत परिवर्तन गर्ने विषयमा फेब्रुअरी महिनाको अन्त्यमा छलफल गर्ने अपेक्षा गरिएको छ । खेतीपातीमा समस्या देखा परेका बेला यो छलफल महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तरमा खाद्यान्न अभाव भएको जानकारी दिँदै राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्लुयूएफपीलाई सहयोग गर्न आग्रह गरेको छ । उत्तर कोरियाली शासकले क्षेप्यास्त्रको क्षमता विस्तार र प्रचारबाजीमा ठूलो स्रोत परिचालन गरेका छन् । त्यसको सामाजिक मूल्य चर्को पर्न गएको छ ।

प्योङ्याङले गत वर्ष सर्वाधिक सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले गत वर्ष ७० वटाभन्दा बढी क्षेप्यास्त्र परीक्षण गर्यो । परीक्षण गरिएका क्षेप्यास्त्रहरूमा अर्को महादेशसम्म पुग्ने क्षमता भएका आईसीबीएमहरू पनि छन् । उत्तर कोरियाले बनाएका आईसीबीएमहरू अमेरिकाको मुख्य भूमिसम्म पुग्न सक्ने ठानिएको छ ।