Breaking

सदनमा सांसदको रोइलो, सरकारलाई सभामुखको रोलिङ,सदन छोडेर कहाँ जान्छन् सांसद


आज बसेको प्रतिनिधि सभा बैठकमा देशको समसामयीक विषयदेखि नीतिगत कुराहरुमा बहस भएको छ । ठूला व्यापारीले अर्थतन्त्रमा गरेको घोटालादेखि उपत्यकाको सडक निर्माणसम्मका विषयमा आवाज उठेको थियो । शुक्रबार ४ घण्टा चलेको प्रतिनिधि सभाको बैठकमा हात्ती आतंकले जनतामा परेको त्रास देखि सिंहदरबारमा जनता सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्था गर्नुपर्नेसम्मको आवाज उठेका छन् ।

साथै नेपालको डुब्दै गएको अर्थतन्त्रको विषय पनि सांसदले उजागर गरे । सदनमा ठूला व्यापारीको सेटिङमा सरकार र नीति निर्माताहरु चलेकोले नेपालको अर्थतन्त्र कमजोर भएको टिप्पणी भएको छ । कूल पुँजीको ६१ प्रतिशत उच्च घरानिया र व्यापारीहरुले उपयोग गर्दा अर्थतन्त्र धरासायी बन्दै गएको नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले बताए ।

त्यस्तै सरकारी सम्पत्तीको सही उपयोग गर्न पनि सरकारलाई ध्यानाकर्षण गराइएको छ । सरकारी कार्यालयमा बेवारिसे भएर बसेको श्रोत र साधनलाई सदुपयोग गर्न आग्रह गर्दै सरकारको करोडौ पर्ने श्रोत र साधनलाई कौडी बनाएर राखिएको आरोप पनि लागेको छ । सांसदले साधनश्रोतको सही सदुपयोका लागि ऐन, नियममा समस्या भए सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।

काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुनुको कारण बारे सरकारको ध्यानाकर्षण गराइएको छ । कसको स्वार्थका कारण सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काम गर्न नसकेको भनी सरकारलाई प्रश्न पनि उठेको छ । राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथि अपराध भएको उल्लेख सांसदले गरेका छन् ।

सर्वाेच्चमा प्रधानन्यायाधीश नियुक्त नगर्ने र प्रहरीमा बदमास प्रहरी अधिकारीलाई प्रहरी प्रमुख बनाउँदै आएको आवाज पनि सदनमा उठ्यो । १४ वर्षदेखि गुलरिया–मुर्तिया नाका सञ्चालन नभएको विषयले पनि ठाउँ पायो । त्यस्तै काठमाडौँमा रहेको खानेपानीको समस्याबारे पनि सांसदले आवाज उठाए । यसबाहेक अव्यवस्थित बसोबासीलाई जग्गाको पूर्जा लिन तय भएको राजश्व अन्यायपूर्ण रहेको आवाज पनि सदनमा सांसदहरुले उठाए ।