काठमाडौँ — यतिखेर देशमा जताततै राष्ट्रपतिको को बन्ने भन्नेमा सबैको चासो र जिज्ञासा रहेको छ । ठूला राजनीतिक दलका नेताहरु आफू अनुकूलको व्याक्तिलाई राष्ट्रपतिको पदमा आसीन भएको हेर्न चाहदा आम सर्वसाधारणको रोजाई भने कस्ता व्यक्ति छन त ? नेपालमा अबको राष्ट्रपति को बन्ला भनेर विभिन्न कोणबाट छलफल हुँदै गर्दा उम्मेदवारी दर्ताको मिति मुखैमा आइसकेको छ । ठूला दलका नेताहरु आफू अनुकूलका व्यक्तिलाई राष्ट्रपतिमा विराजमान भएको हेर्न चाहिरहेका छन् ।
जसले गर्दा हरेक ठूला दल राष्ट्रपतिका लागि उम्मेदवारी दिने तयारीमा मात्रै छैनन् कि त्यसका लागि भागदौड र पानी बारबार बनेकाहरुले पनि एकै कित्तामा आउने संकेत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने रटान गरेपछि को राष्ट्रपति हुनेछन् भन्ने विषय झन झन पेचिलो हुँदै गएको छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमति भनिरहँदा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच्किएका छन् ।
एकले अर्कालाई सकाउन ओलीले माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेका छन् । कांग्रेसले पनि आफ्नै पार्टीबाट उम्मेदवार उठाउने भनिरहँदा मधेश केन्द्रीत दल ४ सीटे लोकतान्त्रिक समाजवादी पार्टीले पनि राष्ट्रपतिमा इच्छा प्रकट गरिरहेको छ । तर, यी दलका नेताहरुको मात्रै राष्ट्रपतिमा नाम आउँदा आम मानिस भने व्यक्ति र दलभन्दा माथि उठेकालाई राष्ट्रपति बनाउनु पर्नेमा जोड दिइरहेका छन् ।
पछिल्लो समय गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति उठाउनु पर्छ भन्ने माग पनि भइरहेको छ । अनुराधा कोइराला, दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे जस्ता गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपतिमा नियुक्त गर्दा व्यक्ति र पद दुवैको सम्मान हुन्छ भन्ने एक जमात छ । राष्ट्रपतिमा सबै दल र नेताको चाहाना बढ्दै गर्दा जनताको भावना पनि बुझ्न जरुरी छ । राष्ट्रपति पद संस्था भएको हुँदा जनताको भावना अनुसार नै उम्मेदवार उठाउँदा मात्रै त्यो संस्थाको मान र गरिमा बढ्ने छ । त्यसैले जो भए पनि योग्य र उपयुक्त व्यक्ति नै राष्ट्रपति हुनुपर्ने जनताको माग छ ।
त्यसो त राष्ट्रपति कुनै कार्यकारीको पद होइन । तर,विगतका नजीरले राष्ट्रपतिको शक्ति दर्शाएको र राष्ट्रपतिको भूमिकालाई आफ्नो स्वार्थ अनुसार प्रयोगमा ल्याउन सक्ने बुझेका दलहरु त्यसका लागि हानाथाप गरिरहेका छन् । जनताले चाहे जो सुकै चाहोस् नेताहरु आफ्नै अनुकूलका नेतालाई राष्ट्रपतिमा नियुक्त गर्ने तरखरमा छन् ।
पद र शक्तिका लागि जुनै बखत पनि को कस्को पक्षमा पल्टिने हो यकिन छैन । उम्मेदवारी दर्ताको समय अझै बाँकी नै रहेको र राष्ट्रपतिको निर्वाचन गोप्य मतदान प्रक्रियाबाट हुने भएकाले पनि निर्वाचन परिणाम नआएसम्म यसैले जित्छ भन्न मुश्किल नै हुन्छ । यद्यपि, कुनै पार्टी वा व्यक्तिको स्वार्थका लागि जोसुकै राष्ट्रपति हुने हो भने यस पटक पनि राष्ट्रपतिको कार्यकाल विवादै विवादमा समाप्त हुने निश्चित छ ।
प्रतिक्रिया