Breaking

राष्ट्रपति रामचन्द्र पक्का, देउवा–प्रचण्डलाई माधवको धक्का, नयाँ गठबन्धन ब्यूँताउँदा माधव कता ?


काठमाडौँ — राष्ट्रपतिको मनोनयन हुने एकदिनमात्रै बाँकी रहँदा पनि दलहरुले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । काँग्रेसले राष्ट्रपति पाउने र रामचन्द्र पौडेल उम्मेदवार बन्ने सम्भावना देखिएका बेला माधवको सक्रियताले अलमल बढेको छ । पुस १० मा ओली–प्रचण्डबीच सहमति जुटेसँगै झण्डै पुस र माघ महिनाभरी एमालेबाट राष्ट्रपति को बन्छ ? भन्ने चर्चा चल्यो । एमालेबाट सुवासचन्द्र नेम्वाङ हुँदै, ईश्वर पोखरेल, विष्णु रिमाल र डोरमणि पौडेलसम्म ओलीको रोजाइमा परे । तर यी कुनै पात्रलाई प्रधानमन्त्री प्रचण्डले चाहेनन् ।

ओलीको पेलाइ र देउवाको विश्वास जितेका प्रचण्ड राष्ट्रिय सहमतिको बहाना खोज्दै राष्ट्रपति पनि राष्ट्रियमा सहमतिबाटै हुनुपर्ने अडानमा अड्डी कसे । तर ओलीको अडानका अघि प्रचण्ड पनि अड्डी कसेरै ओलीसँग वार्ता बस्दै आएका थिए । यसको मुख्य उद्देश्य गठबन्धन भत्किए पनि अपजस आफुमाथि नआओस् भन्ने चलाखी प्रचण्डमा छ । तर देउवालाई मन दिएर बसेका प्रचण्ड अब ओलीसँगै बसेर सत्ता सहयात्रा नहुने निष्कर्षमा पुगेपछि पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउने कसरतमा छन् ।

यसका लागि काँग्रेसका तीनै तहका नेताले प्रचण्डलाई विश्वासमा लिएका छन् । फागुन १० मै गठबन्धन भत्किने दाबी गरेका महामन्त्री गगनकुमार थापाले यसै गरेका थिएनन् । फलतः राष्ट्रपति काँग्रेसलाई दिएर ओलीसँग सहयात्रा तोड्ने तहमा प्रचण्ड उभिएका छन् । अब काँग्रेसभित्र पनि देउवा र महामन्त्रीद्धयको रोजाइमा परेका रामचन्द्र पौडेल राष्ट्रपति बन्ने सम्भावना बलियो बनेको छ ।

चुनावी गठबन्धन भत्किँदा र प्रचण्ड ओलीसँग मिल्न जाँदा सबैभन्दा धेरै आक्रोशित रामचन्द्र पौडेल बनेका थिए । प्रचण्डलाई प्रधानमन्त्री नदिएर काँग्रेसले गल्ती गरेको वकालत पनि पौडेलले गर्दै आएका थिए । प्रचण्डभन्दा अगाडी नै राष्ट्रिय सहमतिको बहस संसद्बाटै छेड्ने पनि पौडेल नै हुन् । देउवालाई सभापति बनाउनेदेखि संसदीय दलको प्रस्तावक बनेर जिताउनेसम्म भूमिका खेलेका पौडेल यसैकारण आफैलाई राष्ट्रपतिको हकदार ठान्दै आएका छन् ।

तर सकभर देउवा नत्र पौडेल र कृष्ण सिटौलामध्ये एकका नाममा सहमति जुटाउने कसरत गरिरहेका प्रचण्डलाई माधवकुमार नेपालको नाम आएपछि संकट परेको छ । प्रचण्डकै समर्थनमा काँग्रेसबाटै राष्ट्रपति बन्ने सम्भावना बलियो बनेका बेला एमाले अध्यक्ष ओलीले माधवकै नाम प्रस्ताव गरिदिएपछि पात्र फेरिने सम्भावना प्रबल देखिन्छ । किनकि बिहिबार दिउँसो प्रधानमन्त्रीसँग भेटवार्ता गरेका माधवले राष्ट्रपतिमा आफैलाई प्रस्ताव गर्न आग्रह गरेका छन् ।

अब रामचन्द्रको टक्करमा काँग्रेसबाट सिटौलासहित माधवकुमार नेपाल पनि आएका छन् । दिए देउवा–प्रचण्ड नत्र ओलीसँग सहकार्य भन्दै बाग्रेनिङ शैलीमा उत्रिएका माधवले पौडेलकै आशमाथि पानी छ्याप्ने देखिन्छ । तर पार्टीको १४ औं महाधिवेशनपछि गुटविहिन बन्दै अवसरबाट समेत बञ्चित बनेका पौडेललाई छोडेर अरुका नाममा सहमति दिन काँग्रेस तयार देखिँदैन ।

पौडेलले पनि आफ्नो समर्थन बलियो बनाउन नेमकिपाका नारायणमान विजुक्छेदेखि, जसपाका उपेन्द्र यादव र राष्ट्रपतिकै आकांक्षी रहेका माधवकुमार नेपालसँग भेटेर आफ्नै लागि अनुकुल बनाउन खोजेका छन् । पश्चिमाको पनि प्यारो रहेका पौडेललाई विदेशीले बोक्ने सम्भावना पनि बलियो छ । तथापी माधव र सिटौलाको खटनपटन पनि कमजोर नभएकाले अन्तिममा बलिको बोको बन्दै पौडेलमाथि विगतकै नियती दोहोरिने सम्भावना पनि छ ।