Breaking

सबैभन्दा संकटमा परे प्रचण्ड, देउवातिर जाँदा झनै जोखिम, माधव हतियार बन्दा ओली विकल्पमा


काठमाडौँ — नेपाली राजनीतिक सबैभन्दा शक्तिशाली पात्र हुन् प्रधानमन्त्री प्रचण्ड । संसदमा निर्णायक अंक भएकै कारण उनी सत्तामा खेल्न पाइरहेका छन् । तर राष्ट्रपतिको निर्वाचनसँगै प्रधानमन्त्री प्रचण्डको पद पनि धरापमा पर्ने जोखिम बढेको छ । ओलीदेखि देउवासम्म, माधवदेखि बाबुरामसम्म सबैलाई फनफनी घुमाएर आफै शक्तिशाली बनेका प्रधानमन्त्री प्रचण्ड अब संकटमा फस्दैछन् । मतमा निर्णायक तर मतिमाचारैतिर भड्किएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा जुनसुकै विकल्प रोजेपनि बाँकी सबैलाई धोका हुने पक्का भएको छ । र यसले उनकै प्रधानमन्त्रीत्व र माओवादीको सत्तायात्रासमेत जोखिममा पार्दैछ ।

राष्ट्रपतिको प्रस्ताव बोकेर बालुवाटार पुग्ने सबैलाई प्रचण्डले आश्वासन दिँदै फर्काइरहेका छन् ।प्रचण्डसँग राष्ट्रपतिमा समर्थन खोज्दै काँग्रेस सभापति देउवा पुगे, प्रचण्डले आफ्नो समर्थन काँग्रेसलाई हुने विश्वास दिएर पठाए ।ओलीबाट समेत आफ्नै नाममा प्रस्ताव आएपछि माधव नेपाल पुगे । प्रचण्डले आश्वासन थमाएरै फर्काइदिए । लोसपाका नेताहरु अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्तावसहित बालुवाटार भित्रिएका थिए । प्रचण्डले आफ्नो समर्थन हुने भन्दै अन्य दललाई मनाउन सुझावसमेत दिएर फर्काए।

आफ्नै निर्वाचन बुझाएर दान गरेका डा. बाबुराम भट्टराईलाई समेत नकार्न सक्ने अवस्थामा प्रचण्ड छैनन् । राष्ट्रपतिकै विषयले गठबन्धनभत्किने भय उत्पन्न भएका बेला एमाले अध्यक्ष ओली र प्रचण्डबीच यही विषयमा लगालग भेटवार्ता चलिरहेका छन् । ओलीलाई पनि प्रचण्डले आश्वासन दिएरै फर्काउने गरेका छन् । तर ओलीका अघि उनले राष्ट्रिय सहमतिको खोजी गरेका छन् ।त्यो सहमति ‘हाम्रै लागि त हो’ भन्ने बुझेको नेपाली काँग्रेस विश्वस्त भएर बसेको छ ।

फलतः शक्तिमा तर संकटमा, अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् ।प्रचण्डको समर्थन बिना राष्ट्रपति बन्ने सम्भावना लगभग अन्त्य भएका बेला उनले जुनसुकै दलकोव्यक्तिरोजे पनि आफ्नै सत्तायात्रा जोखिममा पर्नेछ ।प्रधानमन्त्री प्रचण्डलाई सबैभन्दा ठूलो जोखिम सत्ता गठबन्धनभित्रको एमालेबाटै छ । एमाले अध्यक्ष ओलीले चाहेकै व्यक्ति राष्ट्रपति बन्दा सत्तामा एमाले नै निर्णायक बन्नेछ । आवश्यक परे प्रचण्डलाई गलहत्याएर आफ्नै नेतृत्वमा सरकार बनाउने सुविधा पनि राष्ट्रपतिको कुर्सीसँगै प्राप्त हुनेछ ।

तथापी एमालेबाहेकको व्यक्तिलाई राष्ट्रपतिमा ल्याउनकै लागि प्रचण्डले राष्ट्रिय सहमतिको खोजी गरेका हुन् । तर पछिल्लो समय अस्त्र प्रहारकै शैलीमा माधव नेपाललाई अघि सार्ने संकेत गरेका ओलीले बुधबार बिहान भएको भेटमा पनि सुवास नेम्वाङ र माधव नेपालकै नाम लिएका छन् । त्यसमध्ये पनि माधवका नाममा प्रचण्ड सहमत हुनसक्ने बुझाइका साथ अघि बढेका ओलीले ‘तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ’ भनिदिएपछि यसबाट पनि प्रचण्डमाथि नै जोखिम परेको छ ।

ओलीकै प्रस्तावमा माधव नेपाल राष्ट्रपति बन्नु भनेको एमालेभन्दा परको व्यक्ति राष्ट्रपतिमा नआउनु जस्तै हो । किनकि यहाँ ओलीले माधवलाई पार्टी एकताको सर्त अघि सारेका छन् ।यसो हुँदा नेकपा एकीकृत समाजवादीका १० सांसद पनि थपिएर एमाले ठूलो दलमात्रै बन्ने छैन कि विश्वासको मत दिएको एमालेले समर्थन झिक्न वित्तिकै ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।किनकि पुस १० मा प्रधानमन्त्री माओवादीबाट बन्दा राष्ट्रपति एमालेको हुनुपर्ने प्रस्ताव प्रचण्ड आफैले गरेका थिए । अहिले सहमति नै भंग गरि काँग्रेसलाई समेत च्यापेर आफुनै पाँच बर्ष सत्तामा टिक्ने हाँगो समाएका प्रचण्डप्रति ओली रुष्ट छन् । सहज बन्न वित्तिकै प्रचण्डलाई जुनसुकै बेला उनले लात हान्न सक्छन् ।यदि यसो हुँदा सरकार र राष्ट्रपति दुवै गुमाएको काँग्रेसले प्रचण्डलाई बोकिरहने छैन ।

अब प्रचण्डले चाहेको अर्काे विकल्पमाथि पनि उनकै सत्तायात्रा जोखिममा देखिन्छ ।काँग्रेस सभापति देउवालाई उनले राष्ट्रिय सहमतिको राष्ट्रपतिका रुपमा प्रस्ताव गरेका छन् । काँग्रेसभित्र पनि देउवा नै उम्मेदवार बन्नुपर्ने माग चर्काे छ । यदि देउवा राष्ट्रपति बने संसदीय दलको पुनः निर्वाचन हुनेछ ।जसमा गगन थापा, शेखर कोइराला वा रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का जस्ता नेताहरु आउनसक्छन् । जसबाट निर्वाचित भएर आएको व्यक्तिलेआफै प्रधानमन्त्री बन्न खोजेर प्रचण्डकै सरकार ढाल्न लागिपर्नेछ ।त्यसमा राष्ट्रपति नपाएर प्रचण्डसँग रुष्ट बनेका ओलीले काँग्रेसकै नेतालाई समर्थन दिएर सरकार फेरबदलमा लागि पर्नेछ ।

यदि काँग्रेसबाट रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौलामध्ये एक राष्ट्रपति बनेपनि सातौंपटक पु¥याउने लक्ष्य लिएका देउवा नै प्रधानमन्त्री बन्ने बाटो समाउनेछन् । जसले प्रचण्डकै सत्तायात्रामा ब्रेक लगाउनेछ । तर प्रचण्ड सुरक्षित हुनका लागि दलीयभन्दा गैरदलीय व्यक्ति सहज हुनसक्छ । राष्ट्रपति दलबाहिरकै व्यक्ति बनाऔं भन्दै सहमति जुटाउनसके उनको आगामी पाँच बर्ष सजिलोसँग कट्न सक्छ । नत्र दुई डुङगामा खुट्टा राखेर सत्ता सयर गरिरहेका प्रचण्ड जुनसुकै बेला पोल्टाको समेत गुमाएर रित्तो बन्नेछन् ।