Breaking

फरार सांसद कोइरी राष्ट्रपति निर्वाचनको मतदाता, आम माफी पाएका चौधरी र निलम्वित गुरुङ परेनन् सूचीमा


काठमाडौँ — आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक दल र निर्वाचन आयोगको दौडधूप बढ्दो छ । दलहरु राष्ट्रपति पदको उम्मेदवार छनोटको तिव्र तयारीमा रहेका बेला बुधवार निर्वाचन आयोगले मतदाता नामवली सार्वजनिक गरेको छ । प्रदेश सांसद र संघिय सांसद मतदाता रहेको राष्ट्रपति निर्वाचनमा फरार सांसद पनि अटाएका छन् । निर्वाचन सम्बन्धी ऐन २०७४ अनुसार माघ २८ भित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने व्यवस्था थियो ।

तर राष्ट्रपति निर्वाचनका सवालमा ऐन र कानुन बाझिएपछि निर्वाचन आयोगले राष्ट्रपति पद खाली नहुने रणनीति सहित पदावधि सकिनु तीन दिन अघि मात्र निर्वाचन गर्ने घोषणा ग¥यो । निर्वाचन आयोगको कार्यतालिका अनुसार यहि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन आयोगले बुधवार मतदाता नामवली सार्वजनिक गरेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति चयन राजनीतिक बहस बने पनि संविधानत जनताले निर्वाचित गराएर पठाएको संघ र प्रदेश जनप्रतिनिधिबाट राष्ट्रपति चयन गर्ने व्यवस्था छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा भाग लिन पाउने ८ सय ८१ जनाको नामवली सार्वजकि गरेको छ । जसमा संघीय संसदका ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० जनाको नाम समावेश छ ।

संसदका ८ सय ८४ सांसदमध्ये चितवन दुईबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने नागरिकता प्रकरणमा दोषि ठहर भएपछि सांसद पद गुमाईसकेका रवि लामिछाने र टेक बहादुर गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेका नेपाली कांग्रेसका निलम्बित सांसद टेक बहादुर गुरुङ्ग समावेश छैन । त्यसैगरी हालै जेलमुक्त भएका नागरीक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी पनि यो लिस्टमा अटाएका छैनन् ।

तर फरार सांसद लक्ष्मी चौधरी कोइरीको नाम समावेश छ । निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको आयोगले जनाएको छ । १३ गते दलहरुले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ । राष्ट्रिय सहमतिको राष्ट्रपतिको रटानमा रहेका प्रमुख सत्तारुढ दलसँगै अन्य शीर्ष दलहरु भने उम्मेदवार र को राष्ट्रपति बनाउने अझै अन्यौल्लमै छ ।

पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानुनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको छ । २०७४ अनुसार मतभार निकाल्दा सङ्घीय संसद्मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल सङ्घीय संसद्तर्फको मतभार हुनेछ। त्यस्तै प्रदेशसभातर्फका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल प्रदेशसभातर्फको मतभार हुनेछ ।

मतभारका आधारमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल रहेका छन् । अन्य सरह राष्ट्रपति निर्वाचनमा पनि माओवादी केन्द्रको मतभार नै निर्णायक छ । एक जनामात्र उम्मेदवार भएपनि राष्ट्रपतिमा चयन हुन उम्मेदवारले कुल मतदाताको ५१ प्रतिशत मत ल्याउनु पर्छ ।