Breaking

राष्ट्रपति चयनमा भारत र चीनको ठाडो हस्तक्षेप, विदेशीले चाहेका राष्ट्रपति को ?


काठमाडौँ — आलंकारिक राष्ट्रपति पदलाई शीर्ष नेतृत्वले राजनीतिक दाउपेचको विषय बनाउँदा आन्तरिक राजनीति तरंगित छ । अस्थिर राजनीतिक अंकगणित र शीर्ष नेतृत्वको दलिय स्वार्थले भावी राष्ट्रपति चयन प्रक्रियामा वैदेशिक हस्तक्षेपले थप प्रसय पाएको छ । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा छिमेकी मुलुक भारत र चीनको सक्रियता आफैमा चासोपूर्ण छ ।
राष्ट्रपति पदलाई लिएर राजनीतिक दल र शीर्ष नेतृत्वबीचको खिचातानी बढ्दो छ । प्रमुख राजनीति दल र शीर्ष नेतृत्व जसरी पनि आफु अनुकुल व्यक्ति नै राष्ट्रपति बनाउने रणनीतिमा छन् । अस्थिर राजनीतिक अंकगणित तर राष्ट्रपति पदमा शीर्ष नेतृत्वको दलगत स्वार्थ हावी हुँदा राष्ट्रपति चयन जति सकसपूर्ण बनेको छ, वैदेशिक हस्तक्षेपको दायारा ह्वात्तै बढेको छ ।

देशकै सर्वोच्च निकायको नेतृत्व चयनमा विदेशी शक्तिहरुको सक्रियतालाई नजरअन्दाज गर्न पटक्कै मिल्दैन । अमेरिकी उच्च अधिकारीहरुको निरन्तर नेपाल यात्रा, छिमेकी मुलुक भारत र चिनको सक्रियताले धेरैको ध्यानकर्षण नै गराएको छ । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल यात्रा र सघन राजनीतिक भेटघाट, प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भएको औपचारिक भेट गोप्य वार्ता अझै पनि बहसमा छ ।

क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपतिको नाम नै तोकेर गएको तर्क राजनीतिक वृत्तमा छ्याप्पछ्याप्ती छ । क्वात्राको स्वदेश फिर्ती लगत्तै नेपाल–भारत मामिलाका जानकार भारतीय विश्लेषक एसडी मुनीले नेपालको आगामी राष्ट्रपतिवारे सामाजिक सञ्जालमा नाम नै तोकि दिनु आफैमा अर्थपूर्ण छ । यो विषय सदनसम्म पुगेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर खुलेआम वैदेशिक हस्तक्षेप भएको नेताहरु आफै स्वीकार्छन् ।

राष्ट्रपति पदलाई लिएर दलहरुबीचको राजनीतिक खिचातानी,संयोग मात्र हो या सहयोगका लागि नेताहरुको विदेश यात्रा पनि चर्चामा छ । अध्यक्ष माधवकुमार नेपालको नाम राष्ट्रपति पदका लागि चर्चामा रहेका बेला एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको दिल्ली यात्राले धेरैको ध्यानकर्षण गराएको थियो । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चिनमै छन् । नेपालका लागि चिनिया राजदुत चेन सङले राजनीतिक भेटघाटलाई तिव्रता दिइनै रहेका छन् । काठमाडौ ओर्लिए यता सार्वजनिक मञ्चदेखि कहिले बालुवाटार त कहिले बालकोट गर्नमै राजदुत सङ व्यस्त छन् । यी भेटवार्ताहरु केवल कुटनीतिक मात्र भन्न सकिन्न । परराष्ट्र मामिला दख्खल राख्ने राजनीतिक दलका नेताहरु नै आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढेको विश्लेषण गर्छन् ।

राष्ट्रपति निर्वाचनको आन्तरिक रस्साकस्सीमा विदेशको बलमिच्याईले यो विषय थप कचल्टिने देखिन्छ । दलहरु राष्ट्रपति पद हत्याउने आन्तरिक तालमेल मात्र होइन आन्तरिक छलफल सरसल्लाहसँगै छिमेकीसँग पनि छलफलमा छ भन्दा फरक पर्दैन । दलहरुले आफ्नो स्वार्थ सिद्ध गर्न विदेशी शक्तिसँगको तालमेललाई पनि बढ्वा दिने गरेका छन् । शीर्ष नेतृत्कै आडमा वैदेशिक हस्तक्षेपले थप प्रसय पाईरहेको छ ।