Breaking

राष्ट्रपतिमा एमालेकै उम्मेदवार विजयी हुन्छः शंकर पोखरेल


काठमाडौँ — सत्तारुढ दल नेकपा एमाले महासचिव शंकर पोखरेलले आसन्न राष्ट्रपति निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुने दावी गरेका छन् । ‘निर्वाचनमा जीत–हार स्वभाविक हो । पराजित भइएला भनेर उम्मेदवारी नदिने कुरा आउँदैन’, महासचिव पोखरेलले भने, ‘तर, यस पटक पनि राष्ट्रपति निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुनेमा ढुक्क छौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको सार्वजनिक भइरहेका बेला महासचिव पोखरेलले राष्ट्रपति एमालेबाटै हुने दावी गरेका हुन् ।

सत्ता साझेदार एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुट्न नसकेपछि अध्यक्ष ओलीले पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम अगाडि सारेका छन् । राष्ट्रपतिमा नेपाली कांग्रेसले पनि दावी गर्दै आएको छ । नेपाल एमालेबाट समर्थित राष्ट्रपतिका उम्मेदवार बनेमा कांग्रेस–एकिकृत समाजवादीबीचको गठबन्धन टुट्ने छ । नेपाललाई माओवादी केन्द्रले समर्थन गर्छ वा गर्दैन, त्यो अझै स्पष्ट छैन । एमाले–एकीकृत समाजवादीबीच एकता गर्ने शर्तमा ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेका हुन् । यी दुई पार्टीबीच एकता भएको खण्डमा प्रचण्डको प्रधानमन्त्री पद धरापमा पर्न सक्छ । किनकी त्यो एकतापछि कांग्रेसलाई उछिन्दै एमाले सबैभन्दा ठूलो दल बन्ने सम्भावना बढ्ने छ ।

सबैभन्दा ठूलो दल बनेसँगै एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएमा एमाले संसदीय दलको नेता समेत रहेका अध्यक्ष ओली संविधानको धारा ७६ ९३० अनुसार प्रधानमन्त्री पदमा नियुक्त हुनेछन् । त्यसैले, कांग्रेस–एकिकृत समाजवादीबीचको गठबन्धन तोडिने र सबैभन्दा ठूलो संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री समेत बन्ने गरी ओलीले नेपाललाई पार्टी एकता गर्ने शर्तमा राष्ट्रपतिमा प्रस्ताव गरेका हुन् ।