विदेश

दक्षिण भारतीय अभिनेता रामचरण खाली खुट्टै पुगे एयरपोर्ट


काठमाडौँ — दक्षिण भारतीय अभिनेता रामचरण कालो पहिरन र खाली खुट्टामा एयरपोर्ट पुगेका छन् । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनी ९५ औं अस्कर अवार्डमा सहभागी हुन हैदराबाद एयरपोर्टमा पुगेका हुन् । उनी अभिनीत फिल्म आरआरआरु को गीत नाटु नाटुु यसवर्ष अस्करमा उत्कृष्ट मौलिक गीतको विधामा मनोनयनमा परेको छ । राम चरण हरेक वर्ष केरलाको सबरीमाला मन्दिरको भ्रमण गर्नुभन्दा अघि ४१ दिनसम्म यस्तै पहिरनमा देखिन्छन् । उनी स्वामी अयप्पाका भक्त हुन्। अयप्पाकै मार्गदिशालाई पालना गर्दै उनले व्रत समेत राखेका छन् ।

यो व्रत लिनेहरूले ४१ दिनसम्म कालो लुगा लगाउने, खाली खुट्टा हिँड्ने, शाकाहारी भोजन गर्ने र ब्रह्मचार्य पालना गर्छन् । एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ुआरआरआरु ले विश्वभर चर्चा कमाइ रहेको छ । यसअघि फिल्मको ुनाटु नाटुु गीतले अमेरिकाको गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको थियो ।

चर्चित दक्षिण भारतीय अभिनेताद्वय रामचरण र एनटिआरको मुख्य भूमिका रहेको फिल्ममा आलिया भट्टको पनि छोटो तर प्रमुख भूमिका छ । यसबाहेक अजय देवगनलाई पनि फिल्ममा देख्न सकिन्छ । फिल्मले भारतको सन् १९२० को पृष्ठभूमिमा ब्रिटिस शासनविरूद्ध लड्ने क्रान्तिकारीको काल्पनिक कथा प्रस्तुत गर्छ । यो फिल्म दुई वास्तविक क्रान्तिकारीहरु अल्लुरी सीताराम राज (राम चरण) र कोमराम भीम (जुनियर एनटीआर)को जीवनीबाट प्रभावित छ ।