Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

भोलि शेर्पा गुम्बामा ल्हप्सो गरिँदै, साँस्कृतिक केन्द्रले लोसार र्‍याली गर्ने

के हो ल्हप्सो ? के गरिन्छ ?


काठमाडौँ – महायान बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष तथा मुख्य चाड ग्याल्पो लोसार क्ष्यू मो ह्यो (खरायो) वर्षको तेश्रो दिन बिहीबार शेर्पा सेवा केन्द्रले ल्हप्सो कार्यक्रम आयोजना गर्ने भएको छ ।

२१५०औं क्ष्यू मो ह्यो लो (खरायो वर्ष) ग्याल्पो लोसारको तेश्रो दिन अर्थात छेवा सुमका दिन बिहीबार बौद्धस्थित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) मा धर्मगुरु क्याप्जेक जटुल्ल रिम्पोक्षको प्रमुख आतिथ्यमा ल्हप्सो कार्यक्रम भव्यरुपमा मनाउने केन्द्रका महासचिव आङ काजी शेर्पाले जानकारी दिनुभयो ।

ल्हप्सो कार्यक्रम गर्नुअघि हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले शेर्पा गुम्बाबाट बृहत् लोसार र्‍याली गर्ने संस्थाका महासचिव छोटी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार लोसार र्‍याली विहान् ८ बजे शेर्पा गुम्बाबाट सुरू भैइ टुसाल, चाबहिलस्थित चरुमती बिहारको परिक्रमा गरि पुनः महांकाल, तिनचुली हुँदै बौद्ध स्तुपको परिक्रमा गर्दै र्‍याली ल्हप्सोमा पुगी लामाहरूबाट शेर्पा समुदायको धार्मिक विधि अनुरुप पाठ पूजा गरिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख लामा क्याप्जेक जटुल्ल रिम्पोक्षबाट पासाङ ल्हमु विद्या पुरस्कार र स्व. डोल्कर छिरिङ आमा स्मृति स्टाफ नर्स छात्रवृत्ति पुरस्कार वितरण गरिने शेर्पा सेवा केन्द्रका अध्यक्ष गेल्जे लामा शेर्पाले बताउनु भयो । यस्तै गुम्बाको आजीवन तथा संरक्षक सदस्यहरू र ल्हप्सो कार्यक्रममा आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र एवं सम्मान प्रदान गरिने कार्यक्रम रहेको शेर्पाले योहोेखबरलाई जानकारी दिनुभयो ।

कार्यक्रममा लामा छ्याम (लामा नृत्य) तथा विभिन्न किदुगहरुबाट श्याब्रु नृत्य प्रस्तुतिका साथै लोसारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको महासचिव शेर्पाले बताउनु भयो ।

के हो ल्हप्सो ? के गरिन्छ ?
‘ल्ह’ भन्नाले देउता र ‘सो’ भन्नाले चढाउनु भन्ने बुझिन्छ । त्यसैले ‘ल्हप्सो‘ को शाब्दिक अर्थ देउतालाई चढाउनु वा पूजा गर्नु हुन्छ ।
गाउँघरमा सबै एकै ठाउँमा भेला भएर यो वर्षभरि गाउँमा नराम्रो नहोस् भनेर कुल देउताको पुजा गर्नुका साथै शान्तिको कामना गरिन्छ । काठमाडौँ उपत्यकामा रहेका शेर्पाहरू शेर्पा सेवा केन्द्र बौद्धमा आयोजना हुने ल्हप्सो पुजामा भेला हुन्छन् । यसका लागि २ महिना अगाडिदेखि पाँच जनाको समूहमा अघिल्लो वर्ष गठन गरिएको आयोजक समितिले काठमाडौँमा रहेका प्रत्येक शेर्पाहरुको घरघरमा गई लोसारको निमन्त्रणा कार्ड वितरण गर्ने र आफ्नो गच्छे अनुसार ल्हप्सो पूजाको लागि दिएको आर्थिक सहयोग संकलन गर्ने गरिन्छ । यसरी उठाएको पैसाबाट ल्हप्सो पूजामा आउने सबैका लागि चिया, डेसिल, खप्से, छ्याङ आदिको व्यवस्था गरिन्छ ।

लामा गुरुहरूलाई आमन्त्रण गरी पूजापाठ गरिन्छ । ल्हप्सोका दिन आधिकांश शेर्पाहरू आफ्नै परम्परागत भेषभुषामा आउने गर्दछन । ल्हप्सोमा लामा छ्याम (लामा नृत्य) तथा विभिन्न किदुगहरुबाट श्याब्रु नृत्य प्रस्तुतिका साथै लोसारको शुभकामना आदानप्रदान गरिन्छ ।

ग्रामिण क्षेत्रमा पनि शेर्पाहरूको बासोबास रहेको प्रत्येक गाँउमा र विभिन्न देशमा रहेका शेर्पाहरूले पूर्णिमासम्ममा शुभसाईत हेरि सामुहिक ल्हप्सो पुजा गर्ने चलन छ । यसै अवधिमा आफ्नो घरको आगाडि बुद्धबचन छापिएको च्योतर ध्वजा उठाउने र विभिन्न तीर्थस्थल तथा उच्च ठाँउहरूमा गई पाँच रङको लुङदार अर्थात ध्वाजा पताकाहरु टाङने, तीर्थस्थलहरूको दर्शन गर्ने र बत्ती बाल्ने गरिन्छ । जहाँ जसले जुन रुपले मनाए पनि लोसारले सामाजिक एकता र सदभाव बढाउन महत्वपूर्ण भूमिका खेलेको धर्मगुरूहरू बताउनु हुन्छ ।