Breaking

यसरी मनाए शेर्पा समुदायले ग्याल्पो लोसार, बाघ वर्ष पूरा भई खरायो वर्षलाई स्वागत


काठमाडौँ — शेर्पा समुदायले नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड क्ष्यू मो ह्ये लो अर्थात २१ सय ५०औं ग्याल्पो लोसार मनाउँदै छन् । बाघ वर्षलाई बिदाई र खरायो वर्षको स्वागत गरिँदै छ । लोसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ भने, विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सांस्कृतिक सम्पदामा धनी देश नेपालमा जातजाति र समुदायको आ–आफ्नै परम्परागत चाड पर्वहरु छन् । आफ्नै जातीय तथा धार्मिक परम्पराअनुसार नयाँ वर्ष मनाउने चलन पनि छ । यसै अन्तरगत महायान बौद्ध धर्मालम्बी तथा हिमाली शेर्पा समुदायको नयाँ वर्ष तथा महान चाड क्ष्यू मो ह्ये लो २१५० औं ग्याल्पो लोसार धुमधामले मनाइदै छ । परम्परागत विधि, पूर्वतयारी, कार्यन्वयन र समापन गरी तिन चरणमा विभाजन गरि लोसार मनाउने परम्परा छ । लोसारलाई विभिन्न समुदायहरुले विभिन्न समयमा फरक नामले मनाउँदै आएका छन् ।

गुरुङ समुदायले मितिमा आधारित रहेर पुस १५ मा मनाउँछन् । तामाङ, शेर्पा लगायतका समुदायले भने तिथिमा आधारित रहेर मनाउने गरेका छन् । मुसा, गोरु, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरेर मनाइन्छ । बाघ वर्ष पूरा भई नयाँ चक्र खरायो वर्ष सुरु भएको छ । आदिवासी जनजातिको भाषा, संस्कृति र पहिचानमा राज्यको ध्यानाकर्षण गराउन विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

ग्याल्बो ल्होसार मनाउने शेर्पा समुदायको आफ्नै सांस्कृतिक विधि र परम्परा छ । तिब्बती चन्द्रमासको पात्रो अनुसार ३ सय ६० दिनभित्र पृथ्वीले सूर्यको एक फन्को पूरा गरी अर्को फन्को सुरुवात गर्ने दिनलाई लोसार अर्थात नयाँ वर्षका रुपमा धुमधामले मनाउने चलन छ । ल्होसारको पहिलो दिन एकाविहानै तालतैया वा धारा कुवामा गइ स्नान गरेर नागको पूजा गरी घ्यूको टीका लगाई फलफूल र धुपबत्ती चढाउने गरिन्छ । यसो गर्दा कुल देवाता खुसी हुने विश्वाश गरिन्छ । यसरी विधिपूर्वक पानी ल्याई घरको पुजा कोठामा भगवान बुद्ध वा कुल देवताहरुलाई खुसी बनाई शुद्ध पानी, खप्से लगायत चढाएर टाशी मोलम अर्थात् मंगलवाचन गर्ने चलन छ । टाशि मोलममा नयाँ वर्ष लोसार शान्तिमय वातावरणमा वितोस भनेर कामना गरिन्छ ।

संवैधानिक रुपमै सबै जात, धर्म र सस्कृतिको सम्मान गरिएको छ । व्यवहारमा उतार्न आफू प्रतिवद्ध रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रतिवद्धता जनाएका छन् । शेर्पा समुदायको पहिचानका लागि निरन्तर आवाज उठाउने आश्वासन पनि उनले दिएका छन् । लोसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न संघसंस्थाले लोसारको अवसरमा आ–आफ्नै ढंगले विविध कार्यक्रम आयोजना गरेका छन् । १५ दिनसम्म शुभकामना आदानप्रदान गर्दै लोसार मनाइन्छ । प्रकृतिक विपत्ति नआओस् भनेर गुम्बा वा पवित्र स्थानहरुमा प्राथना गर्ने चलन समेत छ ।