Breaking

माधवलाई राष्ट्रपति बनाउने ओलीको शक्तिशाली चाल, ओली दाहिने हुँदा प्रचण्ड–देउवा के गर्लान् ?


राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी भइरहेका बेला अनेक व्यक्तिमाथिको चर्चा सतहमा आएको छ । त्यसमध्ये माधवकुमार नेपालको नाम बलियो ढंगबाट प्रस्तुत भइरहेको छ । एमाले अध्यक्ष ओलीले माधवसँगै भेटेर राष्ट्रपतिमा प्रस्ताव गरेपछि देउवा–प्रचण्ड पनि सहमतिमा आउँलान् त भन्ने प्रश्न उब्जीएको छ । कसैले घर न घाटको राजनीति कस्तो हुन्छ भन्दै सोध्यो भने, माधव नेपाललाई देखाइ दिएपुग्छ । माधव नेपाल आफैले १५ बर्ष नेतृत्व गरेको पार्टी भत्कियो ।प्रचण्ड–देउवाको ओतमुनि उमारेको नयाँ पार्टीले राष्ट्रिय दलको हैसियतसम्म पाएन ।

तर अहिले राष्ट्रपतिको माथापच्चीमा माधवकुमार नेपालको नाम एकाएक बलियो बनेर आएको छ ।एकसमय थियो, माधवले चुनावै नजिति प्रधानमन्त्री बन्ने सौभाग्य पाएका थिए । अहिले पार्टी राष्ट्रिय राजनीतिको कर्नरमा थन्किएका बेला माधवकै नाम बलियो बनेको छ । उनलाई सोमबारमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको प्रस्ताव गरेका छन् । प्रचण्ड र देउवासँग पनि राष्ट्रपतिकै चाहना व्यक्त गरेका माधवका नाममा राष्ट्रिय सहमति गर्नुपर्ने दबाब बढेको छ ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको जस्तै नक्कली दन्तबझान माधवकुमार नेपालको पनि ओलीसँग थियो भन्ने पुष्टि हुन केही दिन पर्खिनुपर्ने भएको छ ।कहिल्यै मिल्दैनन् भनेको ओली–प्रचण्ड प्रधानमन्त्रीका लागि मिले । गालीगलौज र सामान्यस्तरको सद्भावसमेत गुमाएका ओली–माधव राष्ट्रपतिका लागि मिल्दैछन् । किनकि यतिबेला दुवैलाई संकटको घडीमा एकअर्काको साथ चाहिएको छ ।पुस १० को सहमति भंग गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेपछि काँग्रेसले त्यो हाम्रै लागि त होला भन्ने बुझेको छ ।

अब प्रचण्डसँग तीब्र असन्तुष्टि बोकिरहेका ओलीलाई एमालेका नाममा सहमति हुने अवस्था लगभग अन्त्य भएपछि माधवलाई दिएरै बोक्नुपर्ने संकट परेको हो । यता देउवा र प्रचण्डसँग पनि राष्ट्रपतिकै चाहना व्यक्त गरेका तर त्यहाँबाट पाउने सम्भावना कमजोर देखिएका बेला माधवले पनि ओलीसँगै गएर पद हत्याउने दाउ छोपेका छन् । यसैकारण आफ्नै पार्टीका नेता कृष्णकुमार श्रेष्ठ किसानलाई सहजीकरणको जिम्मा दिएर उनकै घरमा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्न सोमबार माधव तयार भएका हुन् ।अब सहमति जुटे देउवा–प्रचण्ड, नत्र ओलीकै सहयोगमा राष्ट्रपति बन्ने माधवको चाहनाअघि एमाले सहज बन्दै गएको छ ।
तर माधवको राष्ट्रपति हुने चाहनाका अघि माओवादीको समर्थन अपरिहार्य बन्नेछ । एमाले अध्यक्ष ओलीले माधवलाई अघि सार्दा देउवा–प्रचण्डले पनि सहमति जनाउनसक्ने सम्भावना देखेरै प्लान बीका रुपमा कदम चालेका हुन् । तर राष्ट्रपतिमा निर्णायक अंक बोकी पार्टीबाट उम्मेदवार छान्ने सर्वाधिकार पाएका प्रचण्डले ‘ग्रीन सिग्नल’ दिएका छैनन् । तथापी सोमबार देउवासहित बालुवाटार गएका काँग्रेस नेतासँग प्रचण्डले माधव एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्नसक्ने सुचना चुहाएका थिए । यसकारण उनी माधव आउँदा मझधारमै बस्ने संकेतसमेत गरेका छन् ।

तर प्रचण्डले एमालेको रोजाईमा परेका माधवबाट आफुलाई असुरक्षित ठाने उनको राष्ट्रपति बन्ने सपना साकार हुनेछैन । किनकि वामहरुबीच पहिलो शक्ति बन्ने उद्देश्यमा रहेका प्रचण्डका अघि माधवलाई ओली दाहिने भएरमात्रै पुग्नेछैन । माधव ओलीको कित्तामा पुग्नु भनेको प्रचण्डले फेरि ठक्कर खानु हो । किनकि माधवलाई राष्ट्रपतिको प्रस्ताव गर्दा ओलीले पार्टी एकताको सर्त पनि अघि सारेका छन् । यसो हुँदा माओवादी र नेकपा एकीकृत समाजवादीबीच गृहकार्य चलिरहेको एकता प्रक्रिया पनि भंग हुनेछ ।

माधवका १० सांसद एमालेमै पुग्दा पहिलो दलको हैसियतले फेरि ओली प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ । यसो हुँदा प्रचण्ड फेरि सबै पद र शक्तिबाट च्यूत हुनेमात्रै होइन, ओलीकै पेलान सहेर बस्ने अवस्था आउने छ । यता कम्युनिष्ट फुटाइरहन चाहने देउवाले मात्रै चाहेर पनि काँग्रेसभित्र सहमति हुने अवस्था छैन । जहाँबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने तयारी गरेका छन् भने कतिपयले देउवालाई उम्मेदवार बन्न दबाब दिइरहेका छन् । यस्तो बेला माधवकै नाममा सहमति हुुने सम्भावना नहुनसक्छ ।

ओलीबाट समेत राष्ट्रपतिको प्रस्ताव आएपछि माधव देउवा र प्रचण्डलाई सहमति ल्याउन आफै दोडधुप चलाइरहेका छन् । बालुवाटार र देउवा निवास पुगेर उनी आफ्नै नाममा सहमति खोजिरहेका छन् ।तर यसअघि नै बाबुराम भट्टराई र झलनाथ खनालमाथि समेत प्रस्तावको प्रयोग गरिसकेका ओलीले संकट बेला चालेको त्रुप कार्डबाट माधव कति सुरक्षित छन्, त्यसको लेखाजोखा भने उनी आफैले गर्न आवश्यक छ ।