Breaking

मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा सुरु,नेपाल र भारत बीचको धार्मिक सम्बन्ध प्रगाढ बनाउँदै


काठमाडौँ — मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा शुरु भएको छ । नेपाल र भारत बीचको धार्मिक सांस्कृतिक महत्वलाई मिथिला मध्यमा परिक्रमाले वर्षौंदेखि प्रगाढ बनाउँदै आइरहेको छ । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा अहिले जारी रहेको हो । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ । नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौं श्रद्धालु सहभागी हुन्छन् ।

परिक्रमामा सहभागी श्रद्धालुहरु सोमवार जनकपुरधाममा विश्राम गरेर मंगलवार बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् । परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत शुरुवात गर्नुभएको थियो । मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभुति भएको बताए। उनले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला विहारी विकास परिषद् बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिवद्धता जनाए । परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सह्रानीय मान्न सकिन्छ ।

सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमालाई व्यवस्थित पार्नका लागि कचुरी मठका तत्कालिन महन्थ लाल शरणले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । नेपाल र भारत बीचको धार्मिक सांस्कृतिक महत्वलाई मिथिला मध्यमा परिक्रमाले वर्षौंदेखि प्रगाढ बनाउँदै आइरहेको छ । यसलाई व्यवस्थित गर्न सकिए दुवै देशको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास स्थानीयको छ । यसलाई व्यवस्थित पार्नेतर्फ सरकारको ध्यान जान नसकेको उनीहरुको गुनासो छ ।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दुरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेका छन् ।