काठमाडौँ – टर्कीमा सोमबार फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार गएको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन् ।
६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८ः४४ मा भूकम्प गएको जनाएको छ ।
यो भूकम्प आएपछि दर्जनौं पटक ‘आफ्टर शॉक’ को धक्का महसुस गरिएको थियो । यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन् ।
सोमबारको भूकम्पमा परी मृत्यु हुनेहरु अन्टाक्या, दाफ्ने र समन्दगीका बासिन्दा थिए । सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ ।
अन्टाक्याका मेयरले यस भूकम्पका कारण अझै केही व्यक्ति भग्नावशेषमा फसेको हुनसक्ने बताए । टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार पराकम्पन महसुस गरेको जनाएको छ ।
टर्कीमा रहेको बीबीसी टोलीले सोमबार महसुस गरेको भुकम्प यसअघि आएको हल्का भूकम्प भन्दा धेरै शक्तिशाली भएको बताएको छ ।
प्रतिक्रिया