Breaking

आज ग्याल्पो लोसार मनाइँदै, सार्वजनिक बिदा


काठमाडौँ — प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो लोसार विविध कार्यक्रम आयोजना गरी आज भव्यरूपमा मनाइँदैछ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ क्ष्यू मो ह्ये लो (खरायो वर्ष) मनाउन लागेका हुन् । नेपालको हिमाली र पहाडी क्षेत्रहरुमा बसोबास गर्ने आदिबासी जनजातिहरु शेर्पा, भोटे, तामाङ, गुरुङ, ह्योल्मो, डोल्पो, मनाङगे तथा मंगोल समुदायले मनाउने लोसारको शब्दिक अर्थ लो बन्नले वर्ष वा साल भन्ने हुन्छ भने सार को अर्थ नयाँ भन्ने हुन्छ । यसैले लोसारको अर्थ ’नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । हिमाली बौद्ध समुदायमा नाग्ची ज्योतिषशास्त्र प्रचलित छ, यो पात्रो अनुसार १२ वर्षको एक चक्र हुन्छ र प्रत्येक बर्षलाई विभिन्न जीवजन्तुको नामबाट नामाकरण गरिएको हुन्छ ।

जसअनुसार क्ष्यू मो ह्ये लो ग्याल्पो लोसार आजबाट सुरु हुन्छ । मुसा, गोरु, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरि गणना गरिन्छ । दोतु अनुसार आज मंगलबारबाट बाघ वर्ष पूरा भई नयाँ चक्र खरायो वर्ष सुरु भएको छ ।

ग्याल्बो लोसार फागुन शुक्ला प्रतिपदाको दिनदेखि शुरु हुन्छ । बिक्रम सम्बत, भारतको राजा विक्रम अदित्यको नामबाट शुरु भए जस्तै भोटको पहिलो राजा ड्याठी चेन्बोबाट शुरु भएको भोट सम्बतलाई आधार मानेर नयाँ बर्ष मनाउने भएकोले यो लोसारलाई ग्याल्वो लोसार भनिएको भन्ने तथ्य हिमाली क्षेत्रहरुमा प्रचलित बृहत शब्द कोषहरुमा उल्लेख गरेको पाईन्छ, जस अनुसार यो वर्ष २१५० औ ह्यो लो (खरायो वर्ष) को लोसार हो । लोसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो लोसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

ग्याल्पो लोसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।