Breaking

के छ ग्याल्पो लोसारको महत्व ? कसरी मनाइन्छ नेपालमा ?


काठमााडौँ — सांस्कृतिक सम्पदामा धनी देश नेपालमा जातजाति र समुदायको आ–आफ्नै परम्परागत चाड पर्वहरु छन् । आफ्नै जातीय तथा धार्मिक परम्पराअनुसार नयाँ वर्ष मनाउने चलन पनि छ । यसै अन्तरगत महायान बौद्ध धर्मालम्बी तथा हिमाली शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो लोसारको आगमन भएको छ । धार्मिक र सांस्कृतिक चाडहरुले समुदायहरुको पहिचानमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

तोला लोसार, सोनाम लोसार र ग्याल्पो लोसारको नामबाट प्रचलनमा रहेको पाईन्छ । नेपालको हिमाली र पहाडी क्षेत्रहरुमा बसोबास गर्ने आदिबासी जनजातिहरु शेर्पा, भोटे, तामाङ, गुरुङ, ह्योल्मो, डोल्पो, मनाङगे तथा मंगोल समुदायले मनाउने लोसारको शब्दिक अर्थ लो बन्नले वर्ष वा साल भन्ने हुन्छ भने सार को अर्थ नयाँ भन्ने हुन्छ । यसैले लोसारको अर्थ ’नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । हिमाली बौद्ध समुदायमा नाग्ची ज्योतिषशास्त्र प्रचलित छ, यो पात्रो अनुसार १२ वर्षको एक चक्र हुन्छ र प्रत्येक बर्षलाई विभिन्न जीवजन्तुको नामबाट नामाकरण गरिएको हुन्छ ।

जसअनुसार क्ष्यू मो ह्ये लो ग्याल्पो लोसार मंगलबारबाट सुरु हुन्छ । मुसा, गोरु, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गणना गरिन्छ । दोतु अनुसार भोलिबाट बाघ वर्ष पूरा भई नयाँ चक्र खरायो वर्ष सुरु भएको छ । ग्याल्बो लोसार फागुन शुक्ला प्रतिपदाको दिनदेखि शुरु हुन्छ । बिक्रम सम्बत, भारतको राजा विक्रम अदित्यको नामबाट शुरु भए जस्तै भोटको पहिलो राजा ड्याठी चेन्बोबाट शुरु भएको भोट सम्बतलाई आधार मानेर नयाँ बर्ष मनाउने भएकोले यो लोसारलाई ग्याल्वो लोसार भनिएको भन्ने तथ्य हिमाली क्षेत्रहरुमा प्रचलित बृहत शब्द कोषहरुमा उल्लेख गरेको पाईन्छ, जस अनुसार यो वर्ष २१५० औ ह्यो लो (खरायो वर्ष) को लोसार हो ।

यसको साथै ग्याल्पो लोसारको छुट्टै धार्मिक महत्व पनि रहेको छ । बौद्धग्रन्थ अनुसार शाक्यमुनि बुद्धले आफ्नो ऋद्धि शक्ति प्रदर्शन गरि ६ जना अबौद्ध साधुहरुलाई पराजित गरेको दिनहरु फागुन शुक्ल प्रतिपदादेखि फागुनपुर्णिमा सम्म पर्ने भएकोले यस अवधिलाई बिजय उत्सवको रुपमा धुमधामकासाथ मनाईने भएकोले धार्मिक दृष्टिकोणले पनि यो पर्व महत्वपुर्ण रहेको छ ।

विभिन्न समुदायले फरक समयमा विभिन्न नामबाट लोसार मनाएता पनि यसको अर्थ र महत्वमा कुनै भिन्नता रहेको पाईदैन । सबैले लोसारलाई नयाँ बर्षको रुपमा धुमधामकासाथ मनाउने गरिन्छ । शेर्पाहरुले लोसार शुरु हुनु पुर्व एक महिना अगाडि नै शुभ साईत हेरि लोसारको सगुनको लागि चाहिने जाँड पकाउने चलन छ । त्यसैगरी १५ दिन अगाडि सानो गमलामा नयाँ पालुवाका लागि गहुँ, जौ, मकै, उवा आदिको बिऊ राखेर च्याङमा अर्थात जमरा उमारिन्छ ।

यसरी उम्रेको नयाँ पालुवालाई लोसारको दिन नयाँ सालको नयाँ बालीको रुपमा पूजाकोठामा राखिन्छ । यसका साथै घर गुम्बा, तीर्थस्थल र चौताराहरु सफासुग्घर गरी लिपपोत गरेर रङरोगन गर्ने र घरमा भएका भाँडाकुडाहरुको सरसफाई गर्ने गरिन्छ । गुम्बाहरुमा लामाहरुले पुजापाठ पनि गरिन्छ । उक्तदिन बेलुका विशेष परिकार “गुथुक” खाने चलन छ, जुन ९ थरी अन्न तथा गेडागुडी मिसाएर पकाएको हुन्छ ।

लोसारको अघिल्लो दिन कृष्णपक्ष औसीको दिन छ्योसम अर्थात पुजाकोठामा पहिला पकाएको (याङछाङ), छिमार, जमरा, खप्से, बिस्कुट, मिठाई, फलफुलहरु मिलाएर सजाउछन् । खप्से भन्नाले मैदामा चिनी, नुन, दुध र घिउ मिसाएर बिभिन्न आकारमा बनाएको विशेष रोटी हो भने छिमार भनेको सातुमा नौनी घिउ, मह, चिनी, दुध मिसाएर बनाएको प्रसाद भने याङछाङ भनेको अमृतको रुपमा बितरण गरिने जाँड हो । लोसारको पहिलो दिन एकाविहानै तालतैया वा धारा कुवामा गइ स्नान गरेर नागको पूजा गरी घ्यूको टीका लगाई फलफूल र धुपबत्ती चढाउने गरिन्छ ।

यसो गर्दा कुल देवाता खुसी हुने विश्वाश गरिन्छ । पुजापाठ सकिएपाछि घरको मुली व्यक्तिले छिमार (सगुनको प्रतिक सेतो पिठोको परिकार) र अमृत जल (छयाङ फु) लाई ३ पटक आकाशतिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाने गर्छ र अलिकति सगुनको लागि दाया कुममा छर्किन्छ । छिमार संगै छयाङ्फु (अमृत जल) पनि लिइन्छ । घर परिवारका सबैले छिमार खाईसकेपछि चामलमा घिउ, काजु, किसमिस, बदाम, नरिवल आदि मिसाएर बनाएको डेसिल खान्छन् ।

त्यसैगरी छ्याङमा पिठो, छुर्पी, चिनी, हालेर पकाएको छ्याङखुल, खप्से र अन्य खानाका परिकारहरु खादै मनोरञ्जन गर्दै रमाइलो गर्दछन् । लोसारको पहिलो दिन घरपरिवारमै रमाईलो गरी मनाउछन् र दोश्रोदिनदेखि मात्र आफ्ना दाजुभाई, दिदिबाहिनी, ईष्टमित्र र छरछिमेकमा गई लोसारको शुभकामना आदानप्रदान गर्ने चलन छ । यो क्रम १५ दिन अर्थात पुर्णिमासम्म जारी रहन्छ ।