Breaking

गठबन्धनको हिसाव–किताव, राष्ट्रपतिमा कुन दलको मत कति ? निर्णायक प्रचण्डले कसलाई रोजलान् ?


काठमााडौँ — आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति पद आलंकारिक भएपनि दलहरुले राजनीतिक दाउपेचको अस्त्र बनाउँदा राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समिकरण नै फेरवदलका हुनेसम्मको विश्लेषण जारी छ । आ–आफ्नो दलगत दाउपेचमा रहेका दलहरुको मतभार कस्तो छ त ? निर्वाचन सम्बन्धी ऐन २०७४ अनुसार माघ २८ भित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने व्यवस्था थियो । तर राष्ट्रपति निर्वाचनका सवालमा ऐन र कानुन बाझिएपछि निर्वाचन आयोगले राष्ट्रपति पद खाली नहुने रणनीति सहित पदावधि सकिनु तीन दिन अघि मात्र निर्वाचन गर्ने घोषणा ग¥यो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार यहि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जुटेको आयोगले सोमवार राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । फागुन १० गते मतदाताको नामावली प्रकाशन गर्ने , १३ गते राष्ट्रपतिका लागि मनोनयन दर्ता गराउने कार्यतालिका छ । आयोगको कार्यतालिका अनुसार अबको ५ दिनमा उम्मेदवार छनोट गरिसक्नुपर्नेछ ।

पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानुनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको आयोगले जनाएको छ । प्रदेशसभा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु मतदाता रहेको राष्ट्रपति निर्वाचनमा दलीय सत्ता समीकरणअनुसार राष्ट्रपतिमा को जित्ने÷को हार्ने दलहरुको सांसद संख्या र मतभारका आधारमा अनुमान गर्न सकिन्छ । दलगत मतभारका आधारमा प्रदेशमा ८ हजार ४ सहित र संघतर्फ ७ हजार ७ सय ४२ सहित नेपाली कांग्रेस पहिलो स्थानमा छ ।

प्रदेशमा ७ हजार ७ सय ७६ र संघमा ७ हजार ५ सय ५ सहित नेकपा एमाले दोस्रो स्थानमा छ । प्रदेशमा ४ हजार ८० र संघमा ३ हजार ७ सय १३ सहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । सत्तारुढ गठबन्धनका दलहरु नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा,राप्रपाको जम्मा मतभार प्रदेशतर्फ १३ हजार २ सय र संघतर्फ १३ हजार ८ सय २५ मतभार छ । अर्कोतर्फ मतभारमा पहिलो स्थानमा रहेको नेपाली कांग्रेस र अन्य माधव कुमार नेपाल नेतृत्वको नेकपा एस, उपेन्द्र यादव नेतृत्वको जसपा मिल्दा प्रदेशतर्फ १० हजार ७ सय ४ र संघतर्फ १० हजार ३ सय ३९ मतभार छ ।

राष्ट्रपति निर्वाचनमा अंकगणितीय हिसावमा माओवादी केन्द्र अर्थात प्रचण्ड जता ढल्क्यो उतै राष्ट्रपति जित्ने पक्का छ । माओवादीले साथ दिए कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा मिल्दा नै बहुमत पुग्छ । प्रचण्डको राष्ट्रिय सहमतिको रटान र प्रचण्ड देउवाबीचको बाक्लिएको भेटले कांग्रेस नेताहरु राष्ट्रपति पाउनेमा ढुक्क नै हुन थालेका छन ।

फागुन २५ गते हुने राष्ट्रपति पदको चुनाव जसरी पनि आफ्नो पक्षमा पार्न र आफू अनुकुल व्यक्तिलाई राष्ट्रपति बनाउन सत्ता गठबन्धन दल नेकपा एमाले, माओवादी केन्द्र र विपक्षी नेपाली कांग्रेस समेत दाउ हेरिरहेका छन । अंकगणितीय आधारमा राष्ट्रपतिमा प्रचण्ड स्वत निर्णायक छन । सात दलीय गठबन्धनको एमालेले राष्ट्रपतिमा मुख्य दावी गर्दै गर्दा सत्तारुढ भित्रैको माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिदेखि पाँच वर्ष प्रधानमन्त्री टिक्ने दाउमा प्रचण्ड देउवाको कित्तामा लाग्ने विश्लेषण जारी छ ।