Breaking

अडानीको ५ महिनामा नै गुम्यो १ सय ७ अर्ब डलर, सदनमा हंगामा (भिडियोसहित)


काठमाडौँ – समस्यामा परेका उद्योगपति गौतम अडानीको कठीनाई कम हुनुको साटो झनै बढ्दै गएको छ । छोटो समयमा नै विश्वको तेस्रो धनाढ्य बनेका उनी अहिले उत्कृष्ट २० मा पनि पर्न सकेका छैनन् ।

पछिल्लो केही महिनादेखि गौतम अडानी यो नाम निकै चर्चामा छ । अन्तरर्राष्टिय सञ्चार माध्यमको हेडलाईन बनिरहेको उनी अडानी इन्टरनेश्नल ग्रुप अफ कम्पनीका मालिक हुन् । आज भन्दा २५ दिनअघि सम्म विश्वको तेस्रो धनाढ्य व्यक्ति रहेका उनी अहिले उत्कृष्ट २० भित्र पनि पर्न सकेका छैनन् । विगतको ५ महिनामा १ सय ७ अर्ब डलर गुमाएका भारतीय उद्योगपति अडानीको नेटवर्थ निरन्तर ओरालो लागिरहेको छ । १५५.७ अर्ब डलरका मालिक उनी अहिले ४८.७ अर्ब डलरमा खुम्चिन बाध्य बनेका छन् । धनाढ्यहरुको तेस्रो नम्बरमा राज गरिरहेका उद्योगपति अडानीको आर्थिक साम्राज्यमा अमेरिकी सर्ट सेलिंग कम्पनी हिन्डेनबर्गको नकारात्मक प्रतिवेदनले भूकम्प नै ल्याइदिएपछि उनी २५ स्थानमा पुगेका छन् ।

हिन्डेनवर्गको रिपोर्टमा अडानी समूहमाथि सम्पत्ती शुद्धिकरण, कर छली, भष्ट्राचार जस्ता धेरै आरोप लगाइएको थियो । यी आरोपहरूमा अडानी समूहले भारतमा नियोजित आक्रमण भएको बताए पनि भारत सरकारले भने कुनै पनि आरोपबारे बोलेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अडानीको राम्रो सम्बन्ध भए पनि भारत सरकार यो विषयमा मौन नै छ । तर, सरकारले केही नबोले पनि मोदीले भने अडानीलाई आश्वासन दिइरहेका छन् । यता विपक्षीले भने अडानीको आरोपलाई लिएर प्रधानमन्त्रीमाथि हमला गरेको छ । लोकतन्त्रमा सरकार मौन बस्न नपाउने भन्दै विदेशी लगानीकर्ता र संसद्लाई जवाफ दिनुपर्ने उनीहरुको माग छ ।

अडानी ग्रुप अन्तरर्गत प्रमुख ७ स्टक मार्केटमा सामेल भएका कम्पनीहरु छन् । अडानी ग्रीन इनर्जी, अडानी इन्टरप्राइजेज, अडानी ट्रान्समिसन, अडानी टोटल ग्यास, अडानी पावर, अडानी पोट्स र अडानी विल्मर । जसमा अडानी इन्टरप्राइजेज मात्रै सकारात्क छ भने अन्य सबैको स्टक मार्केट ओरालो लागेको छ ।

उनको कठीनाई कम हुनुको साटो अझै बढ्दै गएको छ । केही वर्ष अघिसम्म गुजरातमा मात्रै सीमित रहेका अडानी ग्रुपले छोटो समयमा नै ठूलो सफलता हात पारेको हो । उनले कमाएका कुल सम्पत्तिमध्ये एक सय अर्ब डलर भन्दा बढी मात्र तीन वर्षको अवधिमा जोडेका थिए ।

जसरी छोटो समयमा नै धनाढ्य व्यक्तिमा सूचीकृत भएका अडानी त्यो भन्दा पनि छोटो समयमा नै धनाढ्य व्यक्तिको सूचीबाट हट्ने संकेत देखिएको छ ।