Breaking

आज सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह


काठमाडौँ – नेपाली सेनाले शनिबार विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ । नेपाली सेनाले सैनिक टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ ।

सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । उनी सेनाको परमाधिपति हुन् ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो दिवसका अवसरमा सैनिक मञ्चमा शस्त्राभ्यास, बढाइँ, कवाजलगायत साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै भारत र बेलायतका सैनिकको ब्याण्ड डिस्प्ले हुनेछ ।

यसपटक सेना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा भारतीय सेनाका पाँच पूर्वसेनाप्रमुख सहभागी हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् ।