Breaking

आज महाशिवरात्रि, भगवान् शिवको पूजा-आराधना गरिँदै


काठमाडौँ – महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । 

पञ्चांग निर्णायक विकास समितिबाट सिफारिस पात्रोअनुसार साँझ ६ बजेसम्म त्रयोदशी तिथि रहे पनि त्यसपछि चतुर्दशी लाग्ने भएकाले शनिबार नै महाशिवरात्रि पर्व मनाउन लागिएको हो ।

हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा-आराधना गर्दैछन् । महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन् । यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ ।

महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौँ आएका छन् ।

भारतबाट आएका साधुसन्त तथा जोगीका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था मिलाएको छ । कोषले उनीहरूलाई दक्षिणा भेटीसहित विदाइ गर्ने गरेको छ । नेपालका साथै भारतमा समेत धुमधामसँग यो पर्व मनाइन्छ । भारतमा द्वादश ज्योतिर्लिङ्गका साथै साना ठूला शिव मन्दिरमा घुइँचो लाग्छ ।