Breaking

स्कटल्याण्डमाथि नेपालको जित


काठमाडौँ — आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डलाई नेपालले ३ विकेटले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतक प्रहार गरे । कुशलले ८१ रनको योगदान गरे । उनले ६७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । कुशलले एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले लिग-२ कै खेलमा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । दिपेन्द्रसिंह ऐरीले नटआउट ८५ रन जोडे । उनले ११६ बलमा ८ चौका र १ छक्का हिर्काए ।

कुशल र दिपेन्द्रबीच छैटौं विकेटका लागि सय रनको साझेदारी भएको थियो । यहि साझेदारी नेपालको जितको आधार बन्यो ।नेपालका लागि विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट २४ रन जोडे । उनले ३२ बलमा ३ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेल १६ रन बनाएर तेस्रो ओभरमा, ज्ञानेन्द्र मल्ल ४ रनमा सोही ओभरमा र आसिफ शेख पाँचौ ओभरमा ९ रन बनाएर आउट हुँदा नेपालले पाँच ओभरमा तीन विकेट गुमायो । उनले पहिलो ओभरमा २३ रन खर्चिए पनि त्यसपछि उत्कृष्ट बलिङ गरेका थिए । यस्तै नेपालका कप्तान रोहित पौडेल ६ रन तथा सन्दीप जोरा ५ रन जोडेर आउट भए । दुवैलाई स्कटल्यान्डका मार्क वाटले आउट गरे। गुल्शन झाले २८ बल खेलेर १७ रन जोडेका थिए ।

बलिङमा स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले ३-३ विकेट लिए । त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ९ विकेटको २७४ रन जोड्यो । स्कटल्यान्डका लागि माइकल लेस्कले शतक प्रहार गरे । पहिलो एकदिवसीय शतक प्रहार गरेका उनले ८५ बलमा नटआउट १०७ रन जोडे । स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइडले २२ रन र रिची बेरिङटनले १९ रन जोडे। दुवैलाई कुशल मल्लले क्याच आउट गराएका थिए ।

टोमस म्याकिङटोस १९ रन, म्याथ्यु क्रस २ रन र ब्रेन्डन म्याकुलम २२ रनमा आउट भए । तीनै जनालाई सन्दीप लामिछानेले आउट गरे । क्रिस ग्रेभ्सलाई १६ रन बनाएर खेलिरहदा कुशल भुर्तेलले विकेटकिपर आसिफ शेखबाट क्याच गराए । यस्तै ज्याक जर्भिसलाई दिपेन्द्रसिंह ऐरीले २६ रनमा बोल्ड गरे । मार्क वाट २० रनमा रनआउट भए । बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट लिए । उनले १० ओभरमा २७ रन दिए । कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक विकेट हात पारे ।

सिरिजमा यसअघि दुवै टिमले पहिलो खेलमा जित हात पारेका थिए । दुवैले नामिबियालाई पराजित गरेका थिए । सिरिजमा नेपालले भोलि आफ्नो तेस्रो खेलमा नामिबिया र मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ । लिग-२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ । लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ । दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ । तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ । चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ । यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन ।

लिग-२ मा नेपाल छैटौं स्थानमा छ । नेपालले लिग-२ मा आफ्ना १० खेल खेल्न बाँकी छदा २६ खेलबाट २२ अंक जोडेको छ । नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ । पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ ।लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ । जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ । आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ ।

जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन् । सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन् । अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ । क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ ।