Breaking

राष्ट्रपतिमा भारतको प्रवेशले हलचल, सत्ता संकटमा ओली, देउवा–प्रचण्ड कसका नाममा खोज्दैछन् सहमति ?


काठमााडौँ — राष्ट्रपतिमा राष्ट्रिय सहमतिखोजेका दलहरु अन्तर्राष्ट्रिय सहमतिमै पुग्नुपर्ने बाध्यकारी अवस्थामा छन् । हिजो राष्ट्रपति बन्नका लागि ओली, देउवा र प्रचण्ड रिझाएमात्रै पुग्थ्यो । तर यतिबेला अन्तर्राष्ट्रिय सहमति नै चाहिने भएपछि नेताहरु दूताबास धाउन थालेका छन् । कोहीलाई राष्ट्रपतिकै बहानामा मिलेका कम्युनिष्ट फुटाउनु छ । कोहीलाई लुटिएको कुर्सी फर्काएर सातौंपटक प्रधानमन्त्री बन्नुछ । केहीदिनदेखि राष्ट्रपतिमा अल्झिएको राष्ट्रिय राजनीति यतिबेला देशी विदेशीको मसला बनेको छ ।

आज जनता मात्रै होइन, ओली, देउवा नै जान्न चाहन्छन्, दिउँसो प्रचण्डसँग सिंहदरबारमा औपचारिक भेटवार्ता गरेका क्वात्राले बेलुका बालुवाटार एक्लै भेटेर के पकाए ?के उनले महन्थ ठाकुर र कृष्ण सिटौलामध्ये एकलाई राष्ट्रपति बनाउन निर्देशन नै दिएका हुन् ?ओलीले बालुवाटारमा रअका सामन्थ गोयलसँग के गफ गरे, आजसम्म कसैले पत्ता लाउन सकेनन् । हाम्रा प्रधानमन्त्री भारतीय कर्मचारीसँग किन लम्पसार पर्छन ? सदनमा चित्रबहादुर केसीले भनेझैं के बालुवाटारमा विदेशीको नांगो नाच भएकै हो ? के चीनले चाहेका प्रधानमन्त्री बनेपछि भारतले चाहेको राष्ट्रपति बन्नुपर्ने हो ? के छिमेकीहरुको सन्तुलन यसै गरि मिल्ने हो ?यदि त्यस्तै हो भने, देशमा भएका सबै मन्त्रालय भागबण्डा गर्दिऔं ।

कति चीनलाई दिऔं, कति भारतलाई दिऔं, कति अमेरिकाले दिऔं । क्वात्रालाई ओलीले भेटे, देउवाले भटे, प्रचण्डले भेट । तर लिपुलेक–कालापानी कहिले फिर्ता गछौं ?भन्दै कसैले सोध्न सकेनन् । सीमा क्षेत्रको अतिक्रमण कहिले रोक्छ भनेर पनि कसैले सोध्न चाहेनन् ।त्यहि भारतका कारण किसानले फलफुल, तरकारी सडकमा फाल्दा यो विषय भेटवार्तामा कतै उठ्न सकेन । यी मध्ये केही विषय मात्रै उठाइदिएको भएपनि आज नेतृत्वप्रति जनताको विश्वास बढ्न सक्थ्यो ।

तर सत्तामा टिकिरहन, सत्तामा पुग्न वा सत्ताकै लागि विदेशीलाई गुहार्दा ओली, प्रचण्ड वा देउवामात्रै सकिँदैछैनन् । हाम्रो स्वाभिमान र राष्ट्रियता नै सकिँदैछ । अब आउनुहोस्, देशले खोजेको राष्ट्रपति को हो ? कस्तो हो ? दल खोजेका राष्ट्रपति को हुन् र कस्ता छन् ? नेपाल भित्रिएको मात्र दुईदिनमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सबैसँग भेटघाट गरेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले १६ भेटवार्ता सम्पन्न गरे । भारतीय विदेश सचिवलाई भेट्न पार्टीका अध्यक्षदेखि राष्ट्रपतिसम्मलाई फुर्सदैफुर्सद ।

एउटा सचिवस्तरिय व्यक्तिलाई नेपालले दिएको भाउ हेर्दा नेपाली कुटनीतिको भाउ भने कौडीमा सीमित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग त क्वात्राले दुईघण्टा लामो वान वान वार्ता गरेका थिए ।मतलब मात्र दुईजनाका बीचमा कुराकानी भएको थियो । क्वात्रा र प्रधानमन्त्री प्रचण्डभन्दा अर्काे व्यक्ति त्यो भेटवार्तामा थिएन ।

दुईदिनको छोटो अवधिमा १६ भेटवार्ता गरेकाक्वात्राको मुख्य उद्देश्य थियो,आगामी राष्ट्रपतिको विषयमा प्रत्येक नेतासँग एकाएक धारणा बुझ्नु । हुनत् उनी प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन नेपाल आएको परराष्ट्र संयन्त्रले बताएको थियो । तर प्रधानमन्त्रीलाई औपचारिक रुपमै भ्रमणको निम्तो नदिइ फर्किएका क्वात्रा आफ्नो उद्देश्यमा भने सफल भएर फर्किएका छन् ।

नेपालका सबै शीर्षत नेताका नाडी छामेर क्वात्रा स्वदेश फर्किएपछि अब भारतले त्यही अनुसार आफ्नो रणनीति बनाउने पक्का बनेको छ । क्वात्रा स्वदेश फर्किएलगत्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेसलाई सघाउने औपचारिक निर्णय नै गर्ने तयारी गर्दैछ । काँग्रेस माओवादीकै निर्णय पर्खेर बसिरहेको छ । अब क्वात्रा र प्रचण्डबीच एक्लाएक्लै गोप्य कोठामा के–के सहमति भयो विस्तारै खुल्दै जाँला । तर अहिलेका लागि माओवादीले काँग्रेसलाई सघाउने औपचारिक निर्णय गर्नु नै नेपाली राजनीतिका लागि ठूलो ब्रेकिङ बन्ने देखिन्छ ।

तर प्रश्न छ, माओवादीको यो निर्णय लगत्तै गठबन्धनको नेतृत्वकर्ता एमाले के गर्ला ?किनकि गठबन्धनबाट प्रचण्डलाई प्रधानमन्त्री बनाएको एमालेले राष्ट्रपति आफुनै हुनुपर्ने दाबीका साथ अघि बढेको छ । विश्वासको मत दिएर प्रचण्डलाई हातमा लिएको काँग्रेसले समेत आफ्नै उम्मेदवार राष्ट्रपति पूर्ण विश्वास देखाइरहेका छन् । यो विश्वासमात्रै नभएर काँग्रेसको आत्मविश्वास पनि हो । यो आत्मविश्वास कहाँ झल्किन्छ भने, काँग्रेस महामन्त्री गगनकुमार थापाले यसअघि सार्वजनिक मञ्चबाटै गठबन्धन फागुन १० मा भत्किने ठोकुवा गरेका छन् ।

पुस १० मा विग्रिएको गठबन्धन फागुन १० मा सच्चिन्छ भन्दै गगनले आत्मविश्वास देखाएको एकदिन वित्न नपाउँदै काँग्रेसकै सांसद् प्रदीप पौडेलले राष्ट्रपति काँग्रेसकै ढोक्समा पर्ने आत्मविश्वास संसदमा देखाएका छन् । यो हेरौं । अहिले काँग्रेसमा देखिएको आत्मविश्वास । प्रचण्डसँगको दोस्रो छलफलपछि सार्वजनिक मञ्चबाटै गठबन्धनको आयु तोकिदिएका गगनको भविष्यावाणी ।

सदनभित्रैबाट ओलीलाई प्रदीप पौडेलले दिएको चुनौती । यी सबै विषयले सडक र सदनबाटै राष्ट्रपति आफुले चाहेको बन्नेमा काँग्रेस ढुक्क छ ।नेकपा माओवादी केन्द्रको आधिकारिक स्रोतका अनुसार राष्ट्रिय सहमतिको नाम दिएर काँग्रेसका रामचन्द्र पौडेल वा कृष्ण सिटौलामध्ये एकलाई राष्ट्रपति बनाउने तयारी चल्दैछ ।

यसमा भारत फ्याक्टर जब्बर बनेर आएको छ । मंगलबारमात्रै एमाले अध्यक्ष ओलीले भारतीय विदेश सचिवको दौडधुपलाई केन्द्र बनाएर दिएको अभिव्यक्तिले समेत त्यसलाई झल्काउँछ । उनले देशी विदेशी शक्तिले गठबन्धन भत्काउन जोडबल गरेको भन्दै समीकरण फेरबदलको संकेत गरेका थिए । जतिबेला क्वात्रा नेपालमै थिए । यसमा माधवकुमार नेपालको आत्मविश्वासले समेत थप संकेत गरिरहेका छ । हुनत् उनी पनि राष्ट्रपतिको आकांक्षा गर्नेमध्येका एक पात्र हुन् । तर उनले पनि एमालेबाट राष्ट्रपति बन्दा देशै बर्बाद हुन्छ भन्दै सहमति नै हुनुपर्ने विषयलाई जोड दिएका छन् ।

तथापी यसको पटाक्षेप माओवादीको निर्णयसँगै विस्तारै सतहमा आउनेछ । तर पुस १० मा एमालेसँग भएको सहमति तोड्दै प्रचण्ड काँग्रेसको कित्तामा उभिए एमाले के गर्ला भन्ने प्रश्न प्रमुख हो । एमालेसँग दुई विकल्प छन् । सरकारबाट बाहिरिने कि प्रचण्डको रोजाईलाई स्वीकार्दै गठबन्धनमै बस्ने । किनकि उसले राष्ट्रपति पाउने विषय थप कमजोर बन्दै गएको छ । तर यसको संकेत ओलीले माघ २७ मा बसेको संसद बैठकपछि नै पाएका थिए ।

किनकि भारतको पहिलो रोजाई एमाले, काँग्रेस वा माओवादी नभई मधेशका महन्थ ठाकुर भएको विषय क्वात्राको नेपाल भ्रमणपछि मात्रै सार्वजनिक भएको नेताहरु बताउन थालेका छन् ।तर ओलीले महन्थ ठाकुरलाई माघ २७ मा आफ्नै गाडीमा राखेर संसद भवनबाट बालकोट पु¥याएपछि धेरैले शंका गर्न थालेका थिए । उनीहरुबीच बालकोटमा झण्डै एक घण्टा लामो छलफल चलेको थियो ।

त्यो छलफलपछि ओलीले राष्ट्रपतिमा महन्थको समर्थन खोजेको विषय सार्वजनिक भएपनि आफुले गुमाउने अवस्था आए महन्थलाई राष्ट्रपतिमा अघि सार्न सक्ने संकेत पनि दिएको एमालेका कतिपय नेताहरुको मत छ ।तथापी एमाले नेताहरु सहजै अरुलाई राष्ट्रपति स्वीकार्ने पक्षमा छैनन् । अन्तिमसम्म पनि उनीहरु एमालेभित्रैबाट भए राष्ट्रिय सहमतिमा राष्ट्रपति, नभए गठबन्धनकै बलमा एमालेकै उम्मेदवारलाई जिताउन लागिपर्नेछ । तर काँग्रेसलाई समर्थन दिने माओवादीको सम्भावित निर्णयले एमालेहरुमा चिसो पसेको छ । यदि माओवादी काँग्रेसलाई सघाउने अवस्थामा पुगे एमाले के गर्छ भन्ने प्रश्न नै अहिले प्रधान हो ।

तथापी विगतमा आफैलाई विश्वासको मत नदिएका महन्थलाई अकास्मात ओलीले च्याप्नु खोज्नुले सबैलाई आश्चर्यमा पारेको छ । महन्थ अहिलेका लागि त्यस्ता साझा व्यक्ति बनेकाछन्, जो भारतको पहिलो रोजाइमा परेको, त्यहि बुझेपछि ओलीले संसद भवनबाट आफ्नै गाडीमा राखेर बालकोट पु¥याएको, विगतको राजनीतिक पृष्ठभूमिले काँग्रेससँग निकट र देउवासँग घनिष्ठ रहँदै आएको, मधेशवादी दलहरुको पनि साझा व्यक्ति । यीनै कारणहरुले महन्थलाई राष्ट्रिय सहमतिको बलियो दाबेदार बनाएको छ ।तर राष्ट्रिय सहमतिको खोजि भइरहेका बेला सबैलाई मिलाएर आफु राष्ट्रपति हुन सक्ने व्यक्ति लोपउन्मुख नै छ । यद्यपी प्रधानमन्त्री नेतृत्वको नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमतिकै लाइनमा उभिएर जसरी पनि सहमति हुनुपर्ने अडान लिइरहेको छ ।

राष्ट्रिय सहमतिका नाममा नेकपा माओवादी केन्द्र वा यसको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले गैरराजनीतिक व्यक्तिमाथि छलफल अघि बढाएका छन् ।राजनीतिक नेतृत्वभन्दा बाहिर राष्ट्रपति जाओस् भन्ने पनि प्रचण्डको चाहना देखिन थालेको माओवादी नेताहरु बताउँछन् । आफ्नै पहलमा गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्दा पछि त्यसको उपकार पनि आफैलाई मिल्ने प्रचण्डको बुझाई पनि छ । माओवादीभित्रैबाट राष्ट्रपतिमा सर्वस्वीकार्य हुने व्यक्तिको पनि अभाव छ । दलभन्दा बाहिर गएको अवस्थामा आफु पाँचैबर्ष प्रधानमन्त्री हुने र गैरराजनीतिक व्यक्तिले सबैबीच सन्तुलन मिलाउन सक्ने विश्वास पनि प्रचण्डमा छ । यसैकारण यो माओवादीभित्र छलफलको विषय बनेको छ ।

अब प्रचण्ड वा माओवादीले चाहेका व्यक्ति कस्ता हुन् भन्ने प्रश्न पनि आउँछ । जस्तो कि, गैरराजनीतिक व्यक्तिका नाममा राष्ट्रिय सहमति गर्नुपर्ने परे खिलराज रेग्मी, सुशिला कार्की, दमननाथ ढुंगाना, कल्याण श्रेष्ठ जस्ता व्यक्तिलाई ल्याउन सक्ने प्रचण्डको चाहना छ । यी पात्रलाई प्रचण्डले बढी चाहेका छन् । संविधान र व्यवस्था बुझेको, गणतन्त्रको रक्षा गर्नसक्ने, त्यसमा पनि देउवा–ओलीको नजिक पनि नभएको गैरराजनीतिक व्यक्ति प्रचण्डको रोजाई हुनसक्नेछ । तर माओवादीभित्र दलभन्दा बाहिरको व्यक्ति राष्ट्रपति बनाउन नहुने मत बलियो छ । त्यसपछि प्रचण्डको दोस्रो विकल्पमा आउनेछन्, डा. बाबुराम भट्टराई । उनलाई पार्टीभित्रका नेताहरु पनि अहिलेको सबैभन्दा उपयुक्त विकल्पका रुपमा अघि सारिरहेका छन् ।

आफ्नै निर्वाचन क्षेत्रमात्रै नभएर सिंगो पार्टी नै माओवादीलाई बुझाएका बाबुरामलाई राष्ट्रपतिमा सहमति गर्ने सम्भावना पनि छ । यसैपनि देउवासँग नजिक, पछिल्लोसमय ओलीप्रति पनि नरम देखिँदै आएका, त्यतिमात्रै नभएर गठबन्धनलाई पाँचै बर्ष टिकाउनुपर्ने मत राख्दै बालकोट पनि धाइरहेकाव्यक्ति भएकै कारण बाबुरामका पक्षमा ओली लचक हुनसक्छन् । बाबुरामलाई ल्याउँदा माओवादी र कम्युनिष्टहरुमा पनि राम्रो सन्देश जाने विश्वास नेताहरु गरिरहेका छन् । व्यक्तित्वमा ओजन भएको र भारतसँग पनि नजिक रहेकाले बाबुराम रोजाईमा पर्नसक्छन् भन्ने विश्वास नेताहरुको छ ।

प्रचण्डको रोजाइमा माधवकुमार नेपाल पनि पर्नसक्ने नेताहरुको बुझाई छ । माधवकुमार नेपाल नै राष्ट्रपति भएपनि आफुलाई सबैभन्दा धेरै अनुकुल हुने विश्वास प्रचण्डमा छ । यसो हुँदा उनको पार्टी पनि प्रचण्डकै कित्तामा पुग्नसक्ने छ । ओलीरहितको समाजवादी केन्द्र बनाउन पनि प्रचण्डकै वर्चश्व हुनेछ । देउवा पनि माधव नेपालका पक्षमा सहमत हुनसक्नेबुझाई प्रचण्डमा छ । अर्काेतिर ओली–प्रचण्ड सम्बन्ध विग्रिदा सबैभन्दा धेरै खुशी हुने पात्र पनि माधवकुमार नेपाल देखिन्छन् । अहिले गठबन्धन भत्किँदा माधव नेपालनै धेरै खुशी हुनेछ ।

तर प्रमुख अनि प्रधान विषय काँग्रेसमा आएर अड्किएको छ । काँग्रेस कसैका पक्षमा सहमत नभए के होला ? किनकि काँग्रेस त आफ्नै पार्टीका उम्मेदवारका नाममा सहमति खोजिरहेको छ । प्रचण्डले खोजेको राष्ट्रिय सहमति नै आफ्ना लागि हो भन्ने बुझाई काँग्रेसको छ । काँग्रेसभित्र राष्ट्रपतिका धेरै आकांक्षी देखिएपनि अहिले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मात्र बलिया दाबेदार हुन् । आफुलाई संसदीय दलको नेतामा प्रस्तावक बन्न नमानेका पौडेललाई देउवा बालुवाटारमैबोलाएर एकघण्टा छलफल गरेपछि उनी प्रस्तावक बनेका थिए । त्यतिबेला राष्ट्रपतिकै आश्वासन दिएर मनाएको विषयले काँग्रेसजनमा उनी नै देउवाको रोजाइ बन्छन् भन्ने चर्चा छ । तर दुई दुई चोटी सभापति बनाउन आफ्नो राजनीतिक भविष्य नै देउवालाई सुम्पिएका सिटौला देउवा र भारत दुवैको रोजाईको पात्र हुन् । यसैकारण उनी बलिया छन् ।

प्रचण्डसँग क्वात्राले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेलेका भूमिकादेखि गणतन्त्रसम्मको योगदानलाई स्मरण् गर्दै सिटौलाका पक्षमा सहमति गर्न दबाब दिएको हुनसक्ने पनि विश्लेषण भइरहेको छ । सिटौला काँग्रेसभित्र पनि अहिले दुवै महामन्त्रीको रोजाइमा परेका छन् । उनी दुवै महामन्त्रीको रोजाइमा यसकारण परेका छन् कि, गगन थापाले आफुलाई नेता बनाएकोदेखि नेतृत्वमा अघि सारेको गुण तिर्न खोजेका छन् । विश्वप्रकाश शर्माले भने सिटौला राष्ट्रपति बन्दा झापाको राजनीति आफ्नो कब्जामा आउने बुझेका छन् । किनकि विगतमा सिटौलाकै कारण विश्वप्रकाश पटकपटक अवसरबाट बञ्चित हुनुपरेको छ ।

तरमा ओली–प्रचण्डबीचको सहमति नै निर्णायक हुनेछ । नत्र गठबन्धन भत्किनेदेखि राजनीति अर्काे तर्फ मोडिने बलियो सम्भावना छ । तर उनीहरुबीच सहमतिको बलियो सम्भावना छैन । राप्रपा, रास्वपा र जसपा लगायतको भूमिका पनि महत्वपूर्ण छ । राप्रपाले कतै समर्थन नदिने संकेत दिन थालेको छ । यद्यपी ओली–प्रचण्डको भूमिका निर्णायक बन्दैछ । आजसम्म ओली र प्रचण्डको वान टू वान वार्ता ५३ दिनमा १८ पटक चल्यो । घण्टौंसम्म गफिए, घाम तापे, खाना खाए । तर निकास निक्लिएन् । कतै ओलीले च्याप्न खोजेका महन्थ वा देउवाले च्याप्न खोजेका सिटौला जो बनेपनि दुईबीच चुनावी भिडन्त बनाएर भारत आफ्नै कोर्टमा राष्ट्रपति ल्याउन खोजिरहेको छ ।

भारत र अमेरिकाको तीव्र हस्तक्षेप नेपालमा देखिरहेको चीन देखिँदा शान्त देखिएपनि पुस १० गते जस्तै अर्काे खेल खेलेर अर्काे आश्चार्यमा नपर्ला भन्न सकिन्न । देखिँदा शान्त, नतिजामा आक्रान्त बन्दै आएको चीनको अब १३ गतेसम्म कस्तो रणनीति बन्छ । त्यसले नेपालको राजनीतिलाई अर्काे दिशा दिनेछ । तर भिडन्त स्वदेशी, नेता स्वदेशी, राष्ट्रपति स्वदेश तरजित विदेशीको नबनोस् ।