Breaking

नेपाललाई २७५ रनको लक्ष्य


काठमाडौँ — आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा २७४ रन जोड्यो । स्कटल्यान्डका लागि मिकेल लेस्कले शतक प्रहार गरे । पहिलो एकदिवसीय शतक प्रहार गरेका उनले ८५ बलमा नटआउट १०७ रन जोडे । स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइडले २२ रन र रिची बेरिङटनले १९ रन जोडे। दुवैलाई कुशल मल्लले क्याच आउट गरेका थिए ।

टोमस म्याकिङटोस १९ रन, म्याथ्यु क्रस २ रन र ब्रेन्डन म्याकुलम २२ रनमा आउट भए। तीनै जनालाई सन्दीप लामिछानेले आउट गरे । क्रिस ग्रेभ्सलाई १६ रन बनाएर खेलिरहदा कुशल भुर्तेलले विकेटकिपर आसिफबाट क्याच गराए । यस्तै ज्याक जर्भिसलाई दीपेन्द्रसिंह ऐरीले २६ रनमा बोल्ड गरे । मार्क वाट २० रनमा रनआउट भए । बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट लिए। उनले १० ओभरमा २७ रन दिए । कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट हात पारे ।

सिरिजमा यसअघि दुवै टिमले पहिलो खेलमा जित हात पारेका थिए । दुवैले नामिबियालाई पराजित गरेका थिए । सिरिजमा नेपालले भोलि आफ्नो तेस्रो खेलमा नामिबिया र मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ ।

लिग(२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ । लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३३ खेलबाट ४८ अंक जोडेको छ । दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ । तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ । चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ । यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन ।

लिग(२ मा नेपाल छैटौं स्थानमा छ । नेपालले आफ्नो ११ खेल खेल्न बाँकी छदा २० अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ । पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ । लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ । जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ । जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग(२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन् ।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन् । अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ । क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ ।