Breaking

भारतीय सेनाका पाँचजना सेनाप्रमुख नेपालमा


काठमाडौँ — भारतीय सेनाका पाँचजना सेनाप्रमुख नेपाल आउने भएका छन् । सेना दिवसमा निम्तो दिएका मध्ये नेपाली मानार्थ महारथीको दर्जा पाएका चार जना भारतीय सेनाध्यक्ष काठमाडौं आइपुगेका छन् भने एकजना भोलि बिहान आउनेछन् । चार जना हिजो काठमाडौं आइपुगेका छन् । एक जनाले आज बिहान पौने ९ काठमाडौं आइपुग्ने कार्यतालिका भएपनि भोलि बिहान मात्रै आउने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए ।

नेपाली मानार्थ महारथीको दर्जा पाउने भारतका सबै सेनाध्यक्षलाई दिए पनि पाँच जना मात्रै काठमाडौं आउने भण्डारीले बताए । हिजो चार जना पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा काठमाडौं आएका थिए । सैनिक मुख्यालयमा भारतीय पूर्वसेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ । छलफल अगाडि भोलि सैनिक मञ्च टुडिखेलमा सेना दिवसको अवसरमा पहिलो पटक ५ सय ५५ जनाको मादल प्रस्तुति हुनेछ । वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सेना दिवसको अवसरमा भारत र बेलायतका सैनिकको ब्याण्ड डिस्प्ले हुने भण्डारीले बताए । सेना दिवसको अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले आज बिहान छाउनीस्थित वीर स्मारकमा श्रद्धाञ्जली दिएका छन् । सेना दिवसको अवसरमा भारतमा रहेका गैरआवासिय सैनिक सहचारीहरु पनि सहभागी हुने उनले बताए । उक्त अवसरमा भारतीय बेलायती सेनाले पनि आफ्नो प्रस्तुति दिनेछ ।