Breaking

राष्ट्रियताको रक्षाका निम्ति म सधैं फ्रन्टलाइनमा छु: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । सरकारलाई राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्य जिल्लाहरूमा पनि लुटपाटका घटना भएको भन्दै जनमोर्चाले शान्ति सुव्यवस्थाको माग गरेको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए । प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।