Breaking

सत्ता जोखिममा हुँदा पूर्वराजाले सडक छेडे, दुर्गा प्रसाईंसँग के स्वार्थ ? राप्रपाको सत्तासराप


काठमाडौँ — झापाको सडकमा पूर्वराजा ओर्लिदा उनलाई हेर्ने र छुन खोज्नेको लर्काे लाग्यो । जनयुद्ध दिवसकै दिन नागरिक जनयुद्धकै झल्को दिने दृश्य देख्न बाध्य भए । पूर्वराजा सपरिवार बर्षाैपछि मञ्चमा देखिनु र पूर्वराजाकै हिमायतीहरु सरकारमा हुनु,यो संयोगमात्रै हो कि पूर्वराजाको योजनाबद्ध तयारी ? सिंहदरबार, बालुवाटार र धुम्बाराहीतिर सत्तापलटको योजना बन्दै गर्दा झापाबाट पूर्वराजाले सडक छेड्न सुरु गरेका छन् । व्यवसायी दुर्गा प्रसाईँले निर्मल निवासको कोठीमा सीमित बनेका पूर्वराजालाई ज्ञानेन्द्र शाहलाई सडकमा झारेका छन् । जबकि यसअघि राजसंस्थाका हिमायती कमल थापादेखि पुरातनवादी पार्टीको रुपान्तरित नेतृत्व भन्दै उदाएका राजेन्द्र लिङ्देनसम्मले पूर्वराजालाई सडकमा उतार्न सकेनन् ।

तर कुनैबेला प्रचण्डका सहयोगी र अहिले ओलीका खास पात्र भनेर वकालत गर्दै आएका व्यवसायी प्रसाईँले निर्मल निवासमा व्यवस्था छेदनको प्रखाई गरिरहेका पूर्वराजालाई सार्वजनिक मञ्चको प्रयोग गर्ने अवस्थामा पु¥याएका छन् । र राजसंस्थाको वकालत गर्दै आएको राप्रपामाथि राजाकै अघि खिसिटिउरी गरेका छन् । नेतृत्वमा रहेका लिङ्देनलाई पूर्वराजाकै अघि लल्कारेका छन् । दोस्रो नेतृत्वमा रहेका रवीन्द्र मिश्रमाथि प्रश्न उठाएर अहिलेको विकृति अवस्था आउनुको मतियारका रुपमा तेजोबध गरेका छन् । र पूर्वराजालाई आफुले जसरी सार्वजनिक मञ्चमा ल्याएर देखाउन चुनौती दिएका छन् ।

तर पनि पूर्वराजा प्रसन्न मुद्रामा छन् । सायद केही प्रश्न उनको मनमा पनि उठेको हुनुपर्छ । एक, अब विगतका कमल थापा जस्तै लिङ्देन वा मिश्रबाट राजसंस्था पुनःस्थापना सम्भव छैन भन्ने बुझाई पूर्वराजामा परेको हुनपर्छ ।दोस्रो, पूर्वराजा अब आफ्नो अभियान छेड्ने पात्रको खोजिमा छन् । जसले भीडलाई कुनै पनि तरिकाले एकीकृत गर्न सक्छ र आफ्नो प्रभाव छोड्न सक्छ । तर यसका लागि व्यवसायी दुर्गा प्रसाईँमाथि नै राजाको नजर वा स्वीकारोक्ति कसरी प¥यो त्यो अहिलेको गम्भीर प्रश्न हो ।

त्यसमध्ये पनि कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्य र एमाले अध्यक्ष ओलीलाई हजुरबाको सम्बोधनले पुकार्दै पाउ पर्न तयार हुने प्रसाईँ राजाका निम्ती कसरी सहज भए ? अनि पूर्वराजा सडकमै आएका बेला एमाले अध्यक्ष ओली झापामै कसरी पुगे ? किनकि पूर्वराजाकै अघि सम्बोधन गरेका प्रसाईँले देउवा, प्रचण्डलाई यो अवस्था र व्यवस्थाका विकृति पात्र भन्दै गर्दा ओलीलाई छुटाएका छन् ।

यसले एउटा गम्भीर प्रश्न के जन्माएको छ भने, प्रचण्ड–देउवाले बेलाबेला आरोप लगाएजस्तै ओली यो व्यवस्था विरोधी हुन् वा राजावादीका समर्थक हुन् ? वा कुनैबेला मार्सी चामलको भात खुवाएर ओली–प्रचण्ड मिलाएका प्रसाईंले अब पूर्वराजा, ओली र लिङ्देनलाई मिलाउन खोजेका हुन् ?तर एमाले नेताहरु मान्न तयार छैनन्, आफ्नै केन्द्रीय सदस्यले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको संकल्पसहित मेची–महाकाली अभियान छेडिसक्दा महासचिव मसानघाटको प्रेतआत्मा भन्दै प्रलाप निकालिरहेका छन् । एमालेको घोषित नीतिका विरुद्ध गएर प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियानको सुरुवात गरेका हुन् ।

यसले उनी हिन्दुत्व र राजसंस्था पुनःस्थापनाको मुद्धा बोक्न तयार रहेको सन्देश पनि दिएको छ । जसमाथि प्रसाईंको विश्वास गरेका पूर्वराजाले मनोकामना पुरा हुने आकांक्षासमेत देखाएका छन् । तर एमाले नेताको अभियानले कम्युनिष्ट नेताहरु नै भड्किन थालेका छन् । प्रतिगमन मेची पुलबाट सुरु भएको संकेत गर्दै माधवकुमार नेपालले यसमाथि आक्रोश देखाएका छन् । राजपाठ गुमाएका राजालाई साम्राज्य फिर्ताको चाहना हुनु सामान्य हो ।

तर पूर्वराजालाई आफ्नै विवादित पुत्र पारस धक्का बन्ने पक्का छ । विगतदेखि नै अनेक उदण्ड मच्चाउँदै आएका पारसले सोमबार पनि सुरक्षामा खटिएका प्रहरीमाथि जाइलाग्दै धक्कामुक्की गरेका हुन् । २०६२÷६३ को जनआन्दोलनपछि पूर्वराजा औपचारिक कार्यक्रममै उपस्थिति भएको यो दूर्लभ दृश्य हो । त्यसमध्ये सत्ताका लागि राप्रपा शक्तिशाली र व्यवस्थाप्रति नागरिकको आक्रोश बढीरहेका बेला उनको यो सहभागितालाई शंकाले हेर्नु जायज देखिन्छ ।