Breaking

यातायात मजदुर आन्दोलनमा आगजनी, तोडफोड गर्ने थप १५ पक्राउ


काठमाडौँ — बालाजुमा यातायात मजदुर आन्दोलनमा आगजनी, तोडफोड गर्ने थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्‍द्र सिंह राठौरले जानकारी दिए । ल्होत्से मलमा लुटपाट गर्ने तीन जना र आगजनी, तोडफोड गर्ने १२ जनालाई पक्राउ गरेको उनले बताए । गत सोमबार यातायात मजदुरले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेको थियो ।

आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुइटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए। ट्राफिक आयरल्यान्ड पनि भत्काएका थिए । यता त्यही बेला एक समूहले ल्होत्से मलमा लुटपाट गरेका थिए । काभ्रे घर भई काठमाडौंको जरंखु बस्ने सहचालक १९ वर्षीय सुरज मगर, उदयपुर घर भई तार्केश्वर बस्ने रितेश बस्नेत र मोरङ घर भई तार्केश्वर बस्ने यमन राई पक्राउ परेका हुन्। बस्नेत र राई ज्याला मजदुरी गर्थे ।

उनीहरूमाथि चोरी तथा डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ। आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राइभर, सहचालकलगायत छन् । यस्तै, विद्यार्थी सुनिल कालिकोटे, व्यापारी रोमन नगरकोटी, विद्यार्थी सुदिप तामाङ, व्यापारी माधव शाही, सहचालकहरू केशर राई, इन्द्र तामाङ, राजन राउत, विकास गुरूङ पक्राउ परेका छन् । यस्तै, चालक इलाराज गुरूङ, हरिशरण तामाङ, संविधान परियार र एक वेटर कविन खड्की पक्राउ परेका छन् ।

प्रहरीले सामाजिक सञ्जालमा आएका भिडिओ तथा तस्बिरबाट पहिचान गरी पक्राउ गरेको हो । उनीहरूमाथि उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान गर्न बालाजु र महाराजगन्जमा पठाएको छ । यसअघि बुधबार मात्रै प्रहरीले १० जनालाई पक्राउ गरेको थियो ।