Breaking

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान


काठमाडौँ — नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ ।

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् । अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।

बडाल नेतृत्वको पूर्व कमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ ।

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै एक अध्यक्ष चार उपाध्यक्ष र १० सचिव चयन हुनेछन् । जारी महाधिवेशनले १५-१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ । महाधिवेशनमा देशभरबाट १५ सय बढी प्रतिनिधि रहेका छन् ।

गत मङ्गलवारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु भएको महाधिवेशन आजसम्म चल्नेछ ।