Breaking

काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सरकारी निवासको सुविधा पाउने


काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सरकारी निवासको सुविधा पाउने भएका छन् । महानगरपालिकाले कानुन नै बनाएर प्रमुख र उपप्रमुखलाई सरकारी निवासको सुविधा उपलब्ध गराउन लागेको हो । महानगरले जारी गरेको ‘काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९’ अनुसार यस्तो व्यवस्था गर्न लागेको हो । यसअघिका मेयर विद्यासुन्दर शाक्यले भने सरकारी निवासको सुविधा लिएका थिएनन् । आफ्नै घर भएका कारण आफूले सरकारी निवासको सुविधा नलिएको उनी बताउँछन् ।

शाक्य अघिका मेयरहरुले भने लैनचौरस्थित बेलायती दूतावास अगाडि रहेको यसअघिको उपराष्ट्रपति निवासलाई सरकारी निवासको रुपमा प्रयोग गर्ने गरेका थिए । ऐन अनुसार घरको बन्दोबस्त नभएको वा प्रमुख तथा उपप्रमुखको निवासका लागि आफ्नो उपयुक्त घर नभई घर भाडामा लिनुपरेमा घरभाडाबापत कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने छ ।
यस्तै प्रमुख र उपप्रमुखको सरकारी निवासको घरको मर्मत–सम्भार खर्च समेत महानगरपालिकाबाट हुने ऐनमा उल्लेख छ । महानगरले निजी घरमा बस्ने प्रमुख र उपप्रमुखलाई घर मर्मत र सरसफाइको निमित्त कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।