Breaking

संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिन्छः प्रदीप पौडेल


काठमाडौँ — नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने बताए ।

‘यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ’, उनले भने, ‘त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने टिप्पणी गरेका थिए । राष्ट्रपतिकै चुनावलाई लिएर सत्ता समीकरण फेरिन सक्ने कतिपयको आंकलनका सन्दर्भमा पनि पौडेल बोलेका छन् । उनी भन्छन्, ‘हामी स्थिरताको पक्षमा छौं । गठबन्धन भत्कियोस् भन्ने चाहना छैन । तर, सुदूरपश्चिममा गठबन्धन भत्कियो । यो कांग्रेसका कारणले भत्किएको हो कि जगैदेखि हल्लिएर भत्किएको हो हामी प्रश्न गर्न चाहन्छौं उनको भनाई छ ।