Breaking

गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा मोबाइल पसलमा लुटपाट गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन


काठमाडौँ — गृह मन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामाग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका सचिव बिनोद सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारवाही गर्ने निर्देशन दिनुभएको हो । यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो ।

प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइललगायतका सामाग्री लुटेका थिए । त्यस्तै, प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ । सोमबारको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट पनि समन्वय र स्थितिको आकलन गरी तत्काल लिनुपर्ने रणनीतिबारे कमजोरी भएकोले त्यसबारे पनि गृहले प्रहरी अधिकारीहरुसमक्ष चासो राखेको छ ।