Breaking

सरकार, यातायात मजदुरको वार्ता सिंहदरबारमा सुरु


काठमाडौँ – आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा वार्ता जारी रहेको नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए ।

विभिन्न १० बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । बिहान काठमाडौँमा सार्वजनिक यातायात चलेका छैनन् । यातायात नचल्दा यात्रुहरु भने मर्कामा परेका छन् । केही रुटमा छिटफुट रुपमा यातायात चले पनि मुख्य रुटमा भने सार्वजनिक यातायातका साधन चलेका छैनन् ।

सोमबार आन्दोलनरत यातायात मजदुरले बालाजु बाइपास क्षेत्रमा प्रहरीको भ्यान तथा अस्थायी प्रहरी बिटमा आगजनी गरेका थिए। सोमबार अपराह्न उक्त क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।

उक्त घटनाप्रति उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आन्दोलनको सन्दर्भ र त्यसको समाधानबारे छलफल गरी उचित निष्कर्ष निकाल्न मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई बिहान मन्त्रालयमा बोलाएका हुन् ।

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार नै गठन भएको छ । कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको मन्त्रालयले जनाएको छ ।

ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घ आन्दोलित भएको हो ।