Breaking

प्रधानमन्त्री प्रचण्डलाई मोदीको निम्तो, शीर्षस्थ नेतासँगको भेटमा व्यस्त क्वात्रा


काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव क्वात्रा राजनीतिक वार्तामा व्यस्त, विभिन्न विकासका सहायताका विषयमा छलफल, प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमणमा छन् । क्वात्राको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ता र दुईपक्षीय सहकार्य केन्द्रित हुने जनाएको छ । उनको यो भ्रमण दुई मुलुकबीचको कुटनीतिक सम्बन्ध सुदृढिकरणका हिसावले अर्थपूर्ण मानिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले रुचाएका, मोदिको विश्वास पात्र कुशल कुटनीतिज्ञ भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणका लागि नेपालमा छन । विदेश सचिव हुनुअघि क्वात्रा नेपालमा भारतीय राजदुतका रुपमा काम गरिसकेका छन् । उनी विदेश सचिव बनेपछि पहिलो पटक नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौडेलको निमन्त्रणमा सोमवार काठमाडौँ ओर्लिएका उनी काठमाडौ आएलगत्तै दुई देशबीचको सचिवस्तरीय बैठकमा सहभागी भए । सचिवस्तरी वैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको परराष्ट्रले जनाएको छ । सचिवस्तरीय दुईपक्षीय संयन्त्रको वैठक लगत्तै परराष्ट्रमन्त्री विमला राई पौड्याल र क्वात्राबीच सिंहदरबारस्थित मन्त्रालयमा दुईपक्षीय भेटवाता भएको छ । भेटवार्तामा विकासका सहायतामा छलफल भएको जनाइएको छ ।

जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने विषयमा समेत छलफल भएको जनाएको छ । क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै शिष्टचार भेटवार्ता गरेका छन् । कांग्रेससभापति शेर बहादुर देउवासँग पनि उनले भेटवार्ता गरेका छन । विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता सहित भारत भ्रमणको निमन्त्रणा दिने तयारी गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले पठाएको निमन्त्रण पत्र हस्तान्तरण गर्दै भारत भ्रमणको निम्तो दिनेछन । नेकपा एमाले अध्यक्ष के.पी शर्मा ओली सहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेट गर्दैछन । मंगलवार पनि केहि राजनीतिक भेटघाट पश्चात क्वात्रास्वदेश फर्किने कार्यसूचि छ ।