विदेश

बिहेमा पूर्वप्रेमिकाहरुको धर्ना


काठमाडौँ — हालै चीनमा एउटा रोचक घटना भएको छ । एकजना युवकको बिहेमा त्यसबेला तहल्का मच्चियो जब युवतीहरुको एउटा समूह बिहे समारोह चलिरहेको हल बाहिर धर्नामा बसे । ती युवतीहरुले आफूहरु बेहुलाका पूर्व प्रेमिकाहरु रहेको दाबी गर्दै बिहे नै रोकिदिने धम्की दिन थाले ।

बिहे गरिरहेका युवकले आफ्नो पूर्वप्रेमी रहेको र आफूसँगै बिहे गर्ने बाचा गरेको दाबी धर्नामा बस्ने हरेक युवतीको थियो । यो घटना चीनको युनान प्रान्तमा भएको हो । चिनियाँ सोसल मिडियामा यो घटनाको भिडियो भाइरल बनिरहेको छ । भिडियोमा युवतीहरुले बिहे समारोहको हल बाहिर प्रदर्शन गरिरहेको देखिन्छ । युवतीहरुको समूहले ब्यानर–पोस्टर समाएर विरोध गर्दै धर्ना कसिरहेका देखिन्छन् ।

उनीहरुलाई युवकलाई बर्बाद गरिदिने पनि धम्की दिए । जसका कारण बिहेमा धेरै बेरसम्म हंगामा मच्चियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार चेन नामका युवकले गत फेब्रुअरी ६ मा बिहे गरेका थिए । उनको बिहेका लागि सबै तयारी भैसकेको थियो । त्यहीँ क्रममा युवतीहरुको एउटा समूह त्यहाँ आइपुग्यो र बिहे हल बाहिर धर्नामा बस्यो । उनीहरुको हात हातमा ब्यानर थिए, जसमा लेखिएको थियो हामी चेनका पूर्व प्रेमिका हौँ । यो बिहे हुनै सक्दैन ।

यदि युवकले बिहे गरेमा आफुहरुले सबै चिज तहसनहस गरिदिने धम्की पनि उनीहरुले दिइरहेका थिए । युवतीहरुको धर्ना तथा प्रदर्शन देखेर त्यहाँ धेरै मानिसहरु जम्मा भए । त्यसबाट बेहुला र बेहुलीका परिवारजन पनि हैरान भए । त्यस विषयमा बोल्दै बेहुला चेनले उक्त घटनाले आफुलाई निकै लज्जित बनाएको बताए । सोही कारण आफ्नी पत्नी टाढिएको र बोलचाल समेत नगरेको उनको भनाई छ ।

तथापि विगतमा आफ्ना धेरैजना गर्लफ्रेण्डहरु रहेको र धर्ना दिनेहरु सबैजना आफ्ना पूर्व गर्लफ्रेण्ड रहेको उनले स्वीकार गरेका छन् । तर ती सबैसँग आफ्नो ब्रेकअप भैसकेकोे उनको दाबी छ । उनी अब नयाँ जिन्दगी सुरु गर्न चाहन्छन् । पहिले आफू अपरिपक्व रहेको, गल्ती पनि गरेको र धेरै युवतीहरुलाई चोट पनि पूराएको हुनसक्ने भन्दै उनले त्यो विगत भैसकेको बताएका छन् ।