Breaking

प्रधानमन्त्रीले गरे सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् ।

आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्री दाहाल सो विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षणका लागि कैलाली पुगेका हुन ।

दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए । उनले आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्ने छन् ।

त्यसपछि नेकपा माअ‍ोवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन् । यस्तै, आजै महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।