Breaking

भारतीय विदेशसचिव आज काठमाडौँ आइपुग्दै


काठमाडौँ – भारतीय विदेशसचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा आज काठमाडौँ आइपुग्ने भएका हुन् ।

भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान ९ बजे काठमाडौँ उत्रने कार्यक्रम छ । विमानस्थलमा उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

बिहान ११ बजे होटल याक एन्ड यतिमा हुने भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिवसँगको वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने भएको छ । भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको छ । नेपालले वार्ताका लागि आग्रह गरे पनि भारतले कुरै सुन्न चाहेको छैन । तीन वर्षअघि भारतले नेपाली भूमि कालापानी समेटेर राजनीतिक नक्सा बनाएपछि जवाफमा नेपालले पनि लिम्पियाधुरा समेटेर नक्सा बनायो । त्यसयता सीमा विवादबारे वार्ता गर्न नेपालले राखिरहेको प्रस्ताव भारतले अस्वीकार गरिरहेको छ ।

भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै गर्ने भारत भ्रमणबारे पनि कुराकानी हुने बताइएको छ । प्रचण्डलाई उनले नेपाल भ्रमणको निम्ता दिने बताइएको छ ।

क्वात्राले आजै परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनले दिउँसो प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ ।

क्वात्राले नेपाल रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत राजनीतिक दलका नेताहरूसँग पनि भेट्नेछन् ।

राष्ट्रपति निर्वाचनको मुखमै छिमेकी भारतका विदेश सचिवले यहाँका नेतासँग कुराकानी गर्न लागेका हुन् । नेपालमा अमेरिकालगायत पश्चिमा देशले पछिल्लो समय बढाएको सक्रियताप्रति भारत सशंकित छ ।

दुई सातामा अमेरिकाबाट दुई वरिष्ठ अधिकारीको नेपाल भ्रमण भएको थियो । त्यसैगरी दक्षिण एसियाली मामिला हेर्ने अर्की एक अमेरिकी अधिकारी अफ्रिन अख्तर पनि सोमबार नै नेपाल आउने क्रममा छिन् । क्वात्रा आएकै दिन अमेरिकी उच्च अधिकारी उत्रनेछिन् ।

परराष्ट्र मन्त्रालयले क्वात्राको भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ विस्तार र सुदृढ गर्ने अवसर भनेको छ । ‘यो भ्रमण दुई मित्रवत् छिमेकीबीच हुने नियमित भ्रमणकै निरन्तरता हो’ परराष्ट्र मन्त्रालयले भनेको छ । नेपाल र भारतले शुक्रबार भ्रमणको संयुक्त घोषणा गरेका थिए । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो ।