Breaking

राष्ट्रपति को ? एक अर्कालाई हेर्दै तर्सिँदै ओली–प्रचण्ड, रविले सोधे ‘गठवन्धनको लाइन के हो ?’


काठमाडौँ— राष्ट्रपति निर्वाचन मिति नजिकिँदै गर्दा दलहरुबीच राष्ट्रपति चयनको विषयले मतभेद् बढेको छ । अब कसलाई राष्ट्रपति बनाउने भन्नेमै राजनीति गर्माएको छ ।

पुस १० मा सरकार बने यता ओली–प्रचण्डबीच खुमलटार र बालकोटमा पटक पटक बैठकहरु भए । तर अहः सम्बन्धमा आएको चिसोपनले मौसमी तापक्रमसँगै तातोपनाको अनुभूति गराएको छैन । किनकि हलो राष्ट्रपति को भन्नेमा गएर अड्कीएको छ । प्रचण्ड दिनै नचाहने र ओली छोड्नै नचाहने चट्टानी अडानमा उभिएपछि राष्ट्रपतिको विषय जटिल बन्दै गठबन्धन भत्किनेसम्मको संकेत सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सर्वस्वीकार्य हुनुपर्ने भन्दै राष्ट्रिय सहमतिको कार्ड फालेपछि ओली ओझेलमा छन् । तर पुस १० मा भएको सहमति अनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने भन्दै गठबन्धनबाट सरकारमा सहभागी दलहरु ओलीको कित्तामा उभिन थालेका छन् । आइतबार बालुवाटारमा बसेको उच्चस्तरिय संयन्त्रको बैठकपछि राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले पूर्वसहमति अनुसार नै गठबन्धनबाट राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

मन्त्रीदेखि सभामुख चयनसम्मका विषयमा गोजीकै व्यक्ति पठाएका ओलीले राष्ट्रपतिमा उस्तै पात्र पठाउँछन कि भन्ने भय प्रधानमन्त्री प्रचण्डमा देखिन्छ । यसका लागि उनी पुस १० को सहमति तोड्दै काँग्रेससमेत सहमतिमा आउने गरि पात्र चयनको खोजिमा छन् । स्वर्वस्वीकार्य व्यक्ति राष्ट्रपतिमा चयन गर्दै गठबन्धन जोगाउने मौका ओलीकै हातमा रहेकोसन्देश समेत दिइरहेका छन् । काँग्रेस सभापति देउवासहितका विपक्षी नेताहरुसँग भेटवार्ता गर्दै थप दबाब थुपार्ने काम पनि प्रचण्डबाट भइरहेको छ ।गठबन्धनमा एक्लिएका प्रचण्ड विपक्षीको बलमा जब्बर देखिन्छन् । उनकै बलमा प्रमुख प्रतिपक्ष काँग्रेससमेत हौसिएर एमालेबाट आउने ‘कठपुतली राष्ट्रपति’ हराएरै छोड्ने दाबी गरिरहेको छ ।

सर्वस्वीकार्य व्यक्तिको खोजिभइरहेका बेला कस्तो व्यक्ति राष्ट्रपति बन्छ भन्ने चर्चा आम रुपमा उठेका छ ।जनता फेरि पनि कुनै अमुक व्यक्तिको गोजीबाट निस्किएको पात्रलाई राष्ट्रपति स्वीकार्ने पक्षमा छैनन् । तर दलहरु आफैलाई अनुकुल हुनेगरि अनुकुल व्यक्तिकै खोजीमा छन् । त्यसका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ,ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलसम्मको नाम चर्चामा छ ।

तर प्रचण्ड त्यतिबेला झस्किए जतिबेला ओलीको मुखबाट विष्णु रिमालको नाम पनि निस्कियो ।एमालेबाट चर्चामा रहेका कुनैपनि व्यक्ति सबै दलका लागि सर्वस्वीकार्य छैनन् । तैपनि पूर्वसभामुख र संविधान बुझेका पात्र भएकै कारण नेम्वाङको बलियो सम्भावना रहेको चर्चा एमालेभित्र चलिरहेको छ ।
संविधान संरक्षकको भूमिका निभाउन तयार रहेको सन्देश समेत नेम्वाङले दिएका छन् । तर दुईदुई पटक ओलीले संसद् विघटन गर्दा चुइक्क नबोली मतियार बनेको आरोपले उनीपनि प्रश्नभन्दा बाहिर छैनन् ।

यस्तो बेला सर्वस्वीकार्य व्यक्तिकै खोजीमा रहेको काँग्रेसले दिन खोजेका पात्र रामचन्द्र पौडेल र कृष्ण सिटौलाप्रति सहमतिको वातावरण देखिँदैन ।देउवा व्यक्ति गौण बनाइ राष्ट्रपति हत्याउने दाउमा छन् ।तर सर्वस्वीकार्य व्यक्ति काँग्रेस–एमाले दुवैबाट आउनसक्ने सम्भावना न्यून छ ।अब कुरा आउँछ माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको । आफ्नै निर्वाचन क्षेत्र बुझाएको गुण तिर्न प्रचण्डले बाबुरामका नाममा सहमति गर्नसक्ने सम्भावना पनि छ ।

नत्र काँग्रेसलाई समेत मान्य हुनेगरि माधव नेपाललाई राष्ट्रपतिमा ल्याउने प्रचण्डको योजना देखिन्छ । तर माधव नेपाललाई स्वीकार्न एमाले छैन । माधवलाई स्वीकार्नै परे नेकपा एकीकृत समाजवादीलाई एमालेमै गाभ्नेसम्मको तयारी उनीहरुले नचलाएको होइन । यद्यपी राष्ट्रपति चयनको विषय स्वदेशी खेलोफड्को मात्रै नभएर विदेशी चलखेलबाट आउने सम्भावनाहरुको विज्ञहरु बताउँछन् ।

पहिलो राष्ट्रपतिका रुपमा काँग्रेसले पठाएका रामवरण यादव पनि विवादभन्दा बाहिर थिएनन् । दुई कार्यकाल राष्ट्रपति सम्हालेकी विद्यादेवी भण्डारीसमेत अन्तिमसम्म विवादको पर्याय नै बनिन् । उनीहरु बढीभन्दा बढी अमुक दलको स्वार्थ केन्द्रीत बने । अब दलका लागि भन्दा संविधान र देशका लागि सोच्ने राष्ट्रपति आवश्यक छ ।

तर राजनीतिभन्दा बाहिरका व्यक्ति दल स्वीकार्न तयार छैनन् भने, दलीय भागबण्डामै राष्ट्रपति बनेका व्यक्तिको हर्कतले जनता आजित छन् ।अब स्वदेश मतभेद् र विदेशी दौडधुप एकसाथ बढेका बेला राष्ट्रपति को बन्छ भन्दा पनि शक्तिकेन्द्रले कस्तो व्यक्ति ल्याउँछ भन्ने विषय प्रधान बनेको छ ।