Breaking

गृहको ललिपप देखाउँदै प्रचण्ड, कहिले पाउला गृहले नेतृत्व ? रविको ठाउँमा अब को ?


काठमााडौँ — राज्य सञ्चालनमा महत्वपूर्ण मानिने गृह मन्त्रालय अहिले नेतृत्वविहीन छ । शीर्ष राजनीतिक दलका नेताहरु सत्ता स्वार्थमा नै लिप्त हुँदा जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयले तत्काल नै मन्त्री पाउन नसक्ने अवस्थामा पुगेको छ । गृह मन्त्रालय राज्य सञ्चालनको एउटा प्रमुख खम्बा नै हो । राज्य सञ्चालन गर्न जुन सुशासनको कुरा आउँछ, त्यो सुशासन कायम राख्न गृहको भूमिका निकै महत्वपूर्ण हुन्छ । ७७ वटै जिल्लाको शान्ति सुरक्षादेखि जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने भएका कारणले पनि गृह मन्त्रालयको खास र विशेष महत्व हुने गर्छ ।

नागरिकको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने यो मन्त्रालय अहिले नेतृत्व विहीन छ । ठूला राजनीतिक दल र तिनका नेता आफ्नो स्वार्थमा लिप्त हुँदा मन्त्रालयको कुर्सी खाली छ । राष्ट्रपतिको राष्ट्रिय राजनीतिमा फसेका दलहरु बरु यसैलाई राजनीतिक मुद्धा बनाइरहेका छन् । गृहकै ललिपप देखाएर प्रचण्ड एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गर्ने दाउँमा छन् । गठबन्धनभित्र पनि आफ्नो पकड बलियो बनाउन ओली प्रचण्डले आफ्नो फाइदाका लागि गृहको चारो हालेको बुझिन्छ । तर, जतिसुकै महत्वपूर्ण मन्त्रालय भए पनि देशले तत्काल गृहमन्त्री भने पाउने अवस्था छैन ।

माओवादीको पहिले नै प्राथमिकतामा रहेको गृह एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण राष्ट्रिय स्वतन्त्र पार्टिको पोल्टामा पग्यो । रविले गृह आफ्नै ढंगले चलाइरहेको अवस्थामा प्रचण्डलाई के खोज्छन् कानो आखो भने झै सर्वाेच्च अदालतको आदेश बन्यो । अदालतको आदेशसँगै गृहको कुर्सी खाली हुँदा शक्ति केन्द्रको हतियार बनेको छ । गृह जस्तो संवेदनशील मन्त्रालयमा कृषि, खेलकुदमा जस्तो पदपूर्ति मात्रै गर्नु भन्दा पनि हेलचेक्राई नगरि सक्षम नेतालाई यसको जिम्मेवारी दिन आवश्यक देखिन्छ ।

गृह मन्त्रालय नपाएकै कारण राजनीतिक शिकार भएको रास्वपा अहिले सरकार बाहिर छ । दुई दिनको अल्टिमेटमले पनि गृह दलहरुको कति प्राथमिकतामा पर्ने गरेको छ भन्ने प्रष्ट हुन्छ । गठबन्धनको बिउँ रोप्दा नै विवादैविवाद सिर्जना गराएको गृह मन्त्रालयले नेतृत्वबिहीन हुदा पनि विवादै निम्त्याएको छ । पार्टी र व्यक्ति दुवैको लागि अर्थ राख्ने यो मन्त्रालयमा अब पनि पदपूर्तिकै लागि मात्र मन्त्री नियुक्त गर्नु भन्दा सक्षम नेता आउन जरुरी छ ।